पटक पटकको भूकम्पको धक्काले देशको संपूर्ण भागलाई नराम्रोसग प्रभावित गरेको छ | मानिसहरु मरेका छन ,अंगभंग भएका छन ,आफन्त घुमाएका छन र घरवार बिहिन भएका छन | बिपत्तिको यो घडीमा घर भत्किएर खुला आकाशमुनि बस्दै आएका पीडितलाई बेवास्ता गर्दै सरकारले सिंहदरबारका पहुँचवाला र सम्पन्न कर्मचारीलाई लाइन लगाएर टेन्ट र त्रिपाल वितरण गरेको छ।
हामी निजामती कर्मचारी पनि खुला आकाशमुनि सुत्नुपर्ने भएकाले त्रिपाल लिएका हौं’, नाम लेख्न अस्वीकार गर्दै स्थानीय विकास मन्त्रालयका एक सहसचिवले अन्नपूर्णसँग भने, ‘निजामती कर्मचारी पनि पीडित छन्, उनीहरूले त्रिपाल लिन नपाउने भन्ने हुँदैन।’
विदेश र स्वदेशबाट सहयोगबाट आएका र सरकारले खरिद गरेका टेन्ट र त्रिपाल वितरणको जिम्मेवारी पाएको सहरी विकास मन्त्रालयको अव्यवस्थापनका कारण सहरी विकास तथा भवन निर्माण विभागको गोदाममा हजारौं टेन्ट थन्किएका छन्।भूकम्प बढी प्रभावित जिल्लाका विकट बस्तीमा मात्रै होइन, काठमाडौं उपत्यकामा पनि पहुँच नभएका र विपन्न अधिकांश सर्वसाधारणले सरकारले वितरण गरेको टेन्ट र त्रिपाल पाएका छैनन्।
सहरी विकासमन्त्री नारायण खड्काले भने आफूहरूले टेन्ट र त्रिपाल वितरण नगरेको दाबी गरे। ‘हामीले कसैलाई पनि टेन्ट र त्रिपाल वितरण गरेका छैनौं’, मन्त्री खड्काले अन्नपूर्णसँग भने।
वास्तविक पीडितलाई पाल र त्रिपाल वितरण नगरी आफू निकट राजनीतिक दलका नेताकार्यकर्ता, आफ्ना नातागोता र सरकारी कर्मचारीले पाल लिएकाले अभाव देखिएको छ।
सरकारको चुस्त व्यवस्थापन नहुँदा मनसुनको मुखमा पीडितहरू खुला आकाशमा बस्न बाध्य छन् भने कतिपयले स्थानीय स्रोतसाधन प्रयोग गरेर टहरा बनाउन थालेका छन्।







