शिब भण्डारी,
लन्डन ,तीन बेलायती सैनिक हेलिकोप्टरहरू राहत तथा उद्धारका लागि नेपाल आउन अनुमति नपाएपछि दूतावास तथा उसका दातृ निकायहरूले सरकारमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष दबाब दिन थालेका छन्।
वेलायत सरकारले राहत समाग्री र उद्धारकर्मीसहित नेपालका लागि पठाएका सिएच-४७ (चिनुक) नामक तीन वटा हेलिकप्टर एकसाता अघि दिल्ली पुगेका थिए |भूकम्पपीडितलाई राहत दिन जान नसकेको अवस्थामा बेलायती जहाजले सक्षमताका साथ आपूर्ति गर्नसक्ने दाबीका साथ बेलायती सरकारी प्रतिनिधि नियोगहरूले ‘लबिङ’ तीव्र पारेका हुन्।नेपाली सेनाले ती उद्धार कार्य गरेमा आफूलाई आपत्ति नहुने र उद्धार तथा राहतमा राजनीति घुसाउन नचाहेको पनि बेलायती प्रतिनिधिहरूको दाबी छ।
यी ठूला विमानको चर्को आवाज आउने र दुर्गममा उडान अवतरणमा समस्या हुने भएकाले सरकारले रोक्नु परेको स्रोतको भनाई छ । एक उच्चस्तरीय सरकारी स्रोतका अनुसार कर्नेल कुमार लामाको बेलायतमा मुद्दा चलाएको तथा बेलायती सेनाका एक उच्च पदाधिकारी (हाल सेवा निवृत्त) द्वारा सशस्त्र विद्रोहताका नै माओवादीसँग साँठगाँठ राखेको तथ्यका आधारमा बेलायती सैनिक जहाजलाई नेपाल आउन नदिने अनौपचारिक निर्णय नेपाल सरकारले गरेको हो।
तीन बेलायती हेलिकोप्टरहरू नेपाल सरकारको अनुमतिको प्रतीक्षामा केही दिनदेखि दिल्लीमा छन्। पटकपटकको बेलायती अनुरोधपछि पनि नेपाल सरकारले प्रवेशाज्ञा दिएको छैन।त्यस्तै बेलायती सहयोग नियोग (डिफिड) का उच्च अधिकारीहरूले पनि आफ्ना विश्वासपात्र केही नेपाली पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिहरूलाई आआफ्ना ठाउँबाट दबाब दिएर पनि जहाज भित्र्याउन सहयोग याचना गरेका छन्।







