गुल्मी । साढे ५ बर्षपछि हुन लागेको नेपाली काँग्रेसको अधिवेशनमा गुल्मीमा आधा दर्जन बढीले सभापतिमा दावी गरेका छन् ।
काँग्रेसको १४ औं महाधिवेशनमा वर्तमान सभापतिसहित अन्य ६ जनाले आकांक्षा प्रकट गरेका हुन् । वर्तमान अध्यक्ष भुवनप्रसाद श्रेष्ठले फेरी एक पटक दोहोरिने पक्षमा रहेका छन् भने उपसभापति विष्णुप्रसाद बलाल, सचिव खिलध्वज पन्थी, अघिल्लो अधिवेशनमा सभापतिका उमेद्वार शालिक पन्थी, श्रीप्रसाद भलामी, वेद थापा मगर, महेन्द्र भण्डारीले सभापतिका लागि आकांक्षा देखाएका छन् ।
त्यस्तै वर्तमान सचिव विष्णु सापकोटाले पनि सभापतिमा दावी गर्दै पहिलो महिला सभापति बन्ने दाउमा छिन् ।
त्यस्तै रवि ज्ञवाली लगायतको थप नेताहरुले पनि सभापतिको दावी गर्न सक्ने बताइएको छ । अघिल्लो निर्वाचनमा सभापति श्रेष्ठका निकटतम प्रतिद्वन्दी शालिक पन्थी थिए । छन्द पहराई, वेद थापा, डाक्टर दामोदर भुसाल पहिलो चरणको निर्वाचनबाटै सभापतिको रिङ्गबाट बाहिरिएका थिए । पहराई अहिले नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण विभागको सदस्य छन् । उनले सभापतिको दाबी नगर्ने मनसायमा भएको बताउँदै आएका छन् । डाक्टर भुसाल हालै लुम्बिनी प्रदेश आयोगको सदस्यमा नियुक्ती पाएका छन् । वेद थापा कालिगण्डकी गाउँपालिका अध्यक्ष हुन् ।
सभापतिमा श्रेष्ठ, दुई पन्थी, बलाल, सापकोटा र भलामी बीच टक्कर हुने देखिन्छ ।
यस अघि मेयर पदका उमेद्वार श्रेष्ठ एमालेका डिल्लीराज भुसालसँग झिनो मतले पराजित भएका थिए । शालिक पन्थी गुल्मीका पुराना नेताहरु मध्ये एक मानिन्छन् । उनी नेवि संघ प्रतिबन्धित छँदा गुल्मीका संस्थापक जिल्ला अध्यक्ष हुन् ।
निरन्तर राजनीतिमा सक्रिय भए पनि आफूले जिल्लाको नेतृत्व गर्ने अवसर नपाएकाले यसपाली साथीहरुले त्यो अवसर दिने छन् भन्ने कुरामा आफू ढुक्क भएको उनी बताउँछन् । सचिव खिलध्वज पन्थी युवा माझ लोकप्रिय नेताको छवि बनाई सकेका छन् । श्रीप्रसाद भलामी पनि विशेष गरि जनजाति भित्र खम्बा नेता मानिन्छन् । सभापति श्रेष्ठलाई युवा पुस्तादेखि पाको पुस्तासम्मले भरोसा राख्छन् । महेन्द्र भण्डारी नेविसंघका पुराना केन्द्रिय नेता हुन् । उनी विद्याथी नेताहरु बीच लोकप्रिय नेता हुन् ।
त्यस्तै महिला नेत्री बिष्णु सापकोटा जिल्लाकी प्रखर नेत्री मध्येकी एक हुन् । महिला अधिकारका लागि लामो समय देखि लड्दै आएकी उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा मुसिकोट नगरपालिकाको उपपेयर पदमा उम्मेद्वारी समेत दिएकी थिइन् । महिलाअधिकार मात्रै नभएर गुल्मेली जनताको हकअधिकारको निम्ती लामो समयदेखि पार्टीमार्फत काम गरेको र यसअघि महिला सभापति पनि नभएको कारण आफूले दाबी गरि अघि बढेको उनले बताइन् ।
यसपटक जिल्लाको नेतृत्व दाबी गर्न नेताहरुवीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यद्यपि उम्मेद्वारी घोषणा गरी चुनाव हुने अवस्था नै आए उल्लेखित मध्ये केही नेताहरु पछि हट्न सक्ने समेत सम्भावना रहेको नेताहरुले बताएका छन् ।






