लण्डनमा भोक हड्तालमा बसेका गुरुङको स्वास्थ्य अवस्था गम्भिर, अस्पताल भर्ना

लण्डन । आफ्नो मागहरु सम्बोधन गर्न सरकारलाई दबाब बढाउने उद्धेश्यसहित लण्डनमा भोक हड्तालमा बसेका धन गुरुङको स्वास्थ्य अवस्था जटिल बनेपछि अस्पताल भर्ना गरिएको छ ।

बेलायती प्रधानमन्त्री कार्यालय अघि १२ दिनदेखि भोकै बसेका भुपू गोर्खा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङमध्ये गुरुङको अवस्था बढी जटिल बनेपछि मंगलबार साँझ सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको हो ।

उनी मधुमेह र ब्लड प्रेसरको समस्याबाट गुज्रिरहेका छन् । उनलाई दुई दिनदेखी पखाला समेत लागेको थियो । स्वास्थ्य अवस्था विग्रिएपनि अस्पताल जान नमानेका उनलाई जबरजस्ती उपचार गर्न लगिएको बताइएको छ ।

११ दिनसम्म भोकै रहेका उनीहरुको स्वास्थ्यअवस्था जटिल बन्दै गएपछि बेलायतको नेपाली समुदायमा चिन्ता बढेको छ ।

यता बेलायत सरकार भने अझै पनि माग सम्बोधन गर्नको निम्ती वार्तामा बस्न तयार भएको छैन । गोर्खाहरुले नेपाल र बेलायत सरकारवीच वार्ता हुनुपर्ने माग गर्दै आएका छन् ।

आफ्ना मागहरु सम्बोधन गर्न ठोस रुपमा पहल भएपछि मात्रै अनशन तोड्ने अन्यथा आन्दोलन नरोकिने गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ता समेत रहेका राईले बताए ।

उनीहरुको माग सम्बोधन गरी तीनै जनाको जीवन रक्षाको ग्यारेन्टी गर्न प्रधानमन्त्री बोरिस जोन्सनमाथि तिव्र दबाब भइरहेको छ । तर पनि सरकार गलेको देखिदैन ।

उता नेपाल सरकारले गोर्खाहरुको अनशन फिर्ता लिन आग्रह गर्दै माग सम्बोधन गर्न कुटनीटिक पहल गर्ने बताएको छ । नेपालको प्रतिनिधिसभा तथा राष्ट्रिय सभामा पनि यस विषयमा चर्काै माग उठ्दै आएको छ ।