लण्डनमा भुपू गोर्खाको भोक हड्तालमा प्रहरीको हस्तक्षेप (भिडियोसहित)

लण्डन। समान पेन्सन लगायतका विभिन्न मागहरु राख्दै भोक हड्तालमा बसेका गोर्खा सत्याग्रह संघर्ष समितिका भूपू गोर्खामाथि स्थानीय प्रहरीले हस्तक्षेप गरेको छ ।

मंगलवार अनशन स्थलमा पुगेर बेलायत प्रहरीले धरपकड गर्दै टेन्टहरु भत्काएको हो ।

२१ जुलाईबाट रिले अनशन शुरू गरेका उनीहरुमाथि आन्दोलन रोक्न दबाब दिदै आएको प्रहरीले यसपटक भने अनशन स्थलमै पुगेर हस्ताक्षेप गरेको हो ।

१३ भिसीहरुको नाममा १३ दिने रिले अनशन बस्दा पनि सरकारले कुनै सुनुवाई नगरेपछि गत शनिवारदेखि प्रधानमन्त्री कार्यालय अघि भुपू गोर्खाहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा घलेले भोक हड्ताल शुरू गरेका थिए ।

३२ वर्षदेखिको आफूहरुको माग पूरा नभएको भन्दै पूर्व गोर्खा सैनिकहरुले बेलायती प्रधानमन्त्री कार्यालय घेराउ देखि लण्डनमा पटक पटक प्रदर्शन गर्दै आइरहेका छन् ।

आन्दोलन दबाउनकै निम्ती प्रहरीले हस्तक्षेप गरेको हो । प्रहरीले बेलायती कानूनअनुसार उक्त स्थानमा त्रिपाल लगाउन नपाइने भएकाले हटाइएको स्पष्टोक्ति दिएको छ ।

प्रहरीले दमन गर्दे गोर्खालीहरुको आन्दोलनलाई दबाउन खोजेको प्रति बेलायतमा रहेका नेपालीहरुले निन्दा गरेका छन् । उनीहरुले २ सय बर्ष लामो इतिहास बोकेको गोर्खालीहरुको माग सम्बोधन गर्नुपर्नेमा उल्टै प्रतिकार गर्न खोज्नु अझै अन्याय भएको बताए ।

आन्दोलनका संयोजक कृष्ण बहादुर राईले आफूहरुको आन्दोलन कसैगरी पनि रोक्न नसकिने बताएका छन् ।

भिडियो