काठमाण्डौ – निर्वाचन मिति नजिकिदै गएपछि निर्वाचन आयोगले देशभर रहेका हतियारको विवरण आयोगमा बुझाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले जिल्लागत रुपमा कुन जिल्लामा कति दर्तावाला हतियार छन् र त्यस्ता हतियार कस्ता कस्ता प्रकृतिका छन् भन्ने खुलाउन पनि निर्देशन दिएको छ ।
आयोगले सरकारलाई दुई दिन अर्थात् चैत ११ गतेभित्र त्यस्ता हतियारको विवरण बुझाउन मिति नै तोकेर ताकेता गरेको हो । यसअघि बैद्य हतियार सरकारको मातहतमा ल्याउन निर्देशन दिएको आयोगले चैत ८ गतेभित्र सरकारले नियन्त्रणमा लिएका अवैद्य हतियारको सूची समेत मागेको छ । आयोगले स्वतन्त्र निश्पक्ष र भयरहित निर्वाचनको परिकल्पना गरेकाले चुनावका वेलामा कसैले पनि हतियार आफ्नो साथमा राख्न नपाउने नियम गृह र रक्षा मन्त्रालयसँगको छलफलपछि बनाएको थियो ।
आयोगको तकेतासँगै गृहमन्त्रालय हतियारको विवरण संकलमा जुटेको छ । मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थिका अनुसार आयोगले दिएको समयसीमाभित्रै हतियारको सूची बुझाइने छ ।
गृह मन्त्रालयका अनुसार देशभर झण्डै ३५ हजारको हाराहारीमा हतियारका लागि प्रशासनबाट स्वीकृती दिएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निश्पक्ष र भयरहित बनाउन व्यक्तिसँग भएका हतियार निर्वाचन अबधिभर सम्बन्धित जिल्ला प्रशासनको अधिनमा राख्नुपर्ने आदेश दिएसँगै त्यस्ता हतियार संकलनमा सरकार लागि परेको मन्त्रालयको भनाई छ ।
व्यक्तिले लिएका त्यस्ता हतियार नै निर्वाचन अवधिभरका लागि सुरक्षा चुनैति बन्ने देखेपछि आयोगको निर्देशनमा प्रशासनले ति हतियार फिर्ता माग्न थालेको हो ।
यसअघि अनुमति लिएर राखिएका हातहतियारको निर्वाचन अवधिमा दुरुपयोग हुने आशंकासहित सम्वन्धित जिल्ला प्रशासनले हतियार बुझाउन निर्देशन जारी गरेका थिए । तर, कतिले हतियार बुझाए भन्ने कुरा भने सम्बन्धित प्रशासनले खुलाएका छैनन ।
सवैजसो जिल्ला प्रशासन कार्यलयहरुले यसअघि विज्ञप्ति जारी गर्दै लाइसेन्सप्राप्त व्यक्तिहरुलाई हतियार बुझाउन गरेको अपिल कतिले कार्यान्वयन गरे भन्नेबारे गृहले पनि बताउँन चाहेन ।
कति छन् लाइसेन्सवाला हतियार ?
–गृहको तथ्याङ्कमा यो आर्थिक बर्षसम्ममा देशभरका विभिन् व्यक्तिहरुले दर्ता गरेर राखेका हतियारमध्ये पेस्तोल ३१२, रिभल्वर ११८, १२ बोरको बन्दुक १३,८९२ , २२ बोरको बन्दुक ४६६१ , भरुवा बन्दुक १२,०९१ , हावादारी बन्दुक १०१० र अन्य २२३१ हतियार दर्ता छन् ।
– गृह प्रवक्ता पन्थिका अनुसार सवैभन्दा बढि काठमाडौं जिल्लाबाट बैद्य हतियार राख्न अनुमति लिएको देखिन्छ । सरकारले पेस्तोल र अत्याधुनिक हातहतियार राख्न भने अनुमति नदिए पनि रिभल्वर, भरुवा बन्दुक, १२ बोर र २२ बोर, हावादरी बन्दुक लगायतका हातहतियार राख्न भने अनुमति दिदै आएको छ ।
काठमाडौं जिल्लामा मात्र झण्डै १३ हजारको हारहारीमा हतियार राख्न अनुमति लिने सख्या छ । काठमाण्डौका प्रमुख जिल्ला अधिकारी हिमनाथ दुवाडीका अनुसार त्यति नै संख्यामा हतियार रहेको अनुमान भएपनि ठयाक्कै भन्न कठिन छ । एकपटक हतियार राख्न अनुमति लिएपछि प्रत्येक दुई बर्षमा नविकरण गर्नुपर्ने प्रवाधान भएपनि नविकरण गर्नेको संख्या भने अत्यन्त न्युन हुने गरेको पाइएको छ ।
क–कसले राख्छन् हतियार ?
सुरक्षा खतरा भएको निवेदन सम्बन्धित प्रशासन कार्यलयमा दिएपछि बैद्य हतियार राख्न अनुमति दिने सामान्य प्रकृया छ । यसमा राजनीतिक कार्यकर्ता, उद्यमी व्यपारी, व्यवसायी र गुण्डा नाइके समेतले हतियार राख्ने गरेका छन् । कतिपयले सान शौकातका लागि त कतिपयले सुरक्षाकै लागि पनि हतियार राख्ने प्रवृति बढेको नेपाल प्रहरीका पुर्व आईजीपी रविन्द्र प्रताप शाहको भनाई छ ।
सिमामा घरैपिच्छे हतियार
काठमाण्डौ लगायत मुख्य शहरमा लाइसेन्स प्राप्त हतियार राख्ने गरिएपनि भारतीय सिमावर्ती क्षेत्रमा भने अनुमति विनै हतियार राख्ने होडबाजी चल्छ । तराईका भारतसँग सिमा जोडिएका सवैजसो जिल्लामा घरैपिच्चछे हतियार हुने गरेको स्थानीयहरु नै बताउँछन् । स्थानीयका अनुसार सिमा जोडिएका जिल्लाहरुमा भरुवा बन्दुक देखि पेस्तोलसम्म घरमा नराख्ने हो भने बस्न नै मुस्किल हुने गरेका कारण पनि हतियार राख्नु अनिवार्य जस्तै छ । कतिमा पाइन्छ हतियार ?
सिमा क्षेत्रका मानिसले भारतबाट सजिलै हतियार किनेर ल्याउँछन् । हतियार हेरेर २ हजारदेखि १५ हजार सम्मका हतियार राख्ने गरेको बताइएको छ । भारतका विभिन्न शहरमा हतियार सजिलै किनबेच हुने भएकाले सिमा क्षेत्रका नेपालीहरु समेत त्यतै गएर हतियार लिने गरेको बताउछन् ।






