सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा मोर्चा

काठमाडौं– तीनबुँदे सम्झौता कार्यान्वयन हुने समस्या देखिएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा पुगेको छ ।

दुई महिनाअघि नेपाली कांग्रेस–नेकपा माओवादी केन्द्र गठबन्धनलाई सरकार गठन गर्न सघाएको मोर्चाले आफ्ना असन्तुष्टिलाई दाहाल नेतृत्वको सरकारले बेवास्ता गरेपछि बाध्य भएर समर्थन फिर्ता लिने मनस्थिति बनाएको मोर्चाका नेताहरूले जनाए ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सरकारले माग पूरा गर्नुको साटो दिन–प्रतिदिन विभिन्न बहाना बनाउँदै संविधान संशोधनलाई धकेल्न थालेपछि समर्थन फिर्ता लिने अवस्था आएको बताए ।

संविधान संशोधनका लागि छठ पर्वसम्म सरकारको निर्णय पर्खने तयारी रहेको उनले बताए ।

गत साउन १९ गते कांग्रेस–माओवादी गठबन्धनको सरकार बनाउन मोर्चामा आवद्ध सातवटा मधेसवादी दलका ४२ सांसदले दाहाललाई मतदान गरेका थिए ।