समाजसेवाको यात्रामा अनवरत लागेका देव गुरुङ न्यू साउथ वेल्स राज्यमा दोस्रो पटक विजयी

तक्दीर अधिकारी

सिड्नी । अष्ट्रेलियाको नेपाली समुदायमा सामाजसेवाको पवित्र कामले समुदायको एक अंग बन्न सफल भएका देव गुरुङले एनआरएनए अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य संयोजक पदमा दोस्रो कार्यकालको लागि पनि विजय प्राप्त गरेका छन् ।

आइतबार विहान आएको मतपरिणाम अनुसार संयोजकमा एनआरएनएका पूर्व उपाध्यक्ष समेत रहेका गुरूङले २ हजार ९१८ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रतिज्ञा अधिकारीले १ हजार ९१८ मत पाइन् ।

गुरुङ अघिल्लो कार्यकालमा पनि एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष तथा एनएसडब्लुको संयोजकमा निर्वाचित भएका थिए । यसपटक अध्यक्षको दाबेदार रहेका उनी लामो समयको समीकरण पछि पूरानै पदमा उम्मेद्वारी दिने घोषणा गरेका थिए । सोही अनुसार विजय पनि प्राप्त गरे ।न्यू साउथ वेल्स राज्यमा रहेका नेपालीहरुलाई पर्ने समस्या समाधानमा सधै अघि रहने उनले विद्यार्थीहरुका हरेक समस्याहरुको निराकरणमा उभिँदै आएका छन् ।

आफूलाई दोस्रो कार्यकालपनि एनआरएनएको नेतृत्व गर्न दिएकोमा उनले सबै मतदाताहरुलाई आभार व्यक्र गर्दै आफूलाई अध्यक्ष पदमा मत हाल्नको निम्ती तयार भएका मतदाताहरुसामू माफी समेत मागेका छन् ।

उनले भनेका छन्, ‘मलाई दोस्रो पटक निर्वाचित गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहान्छु, साथै मेरो अध्यक्ष पदमा उम्मेद्वारी दिने विषयमा भएको अप्रत्याशित परिवर्तनको कारण अध्यक्ष पदमा मत हाल्न नपाउनुभएका अन्तराज्य मतदाताहरुलाई पनि मैले क्षमायाचना माग्नै पर्छ ।’

एक विज्ञप्ती जारी गर्दै उनले अब एनएसडब्लुबाटै नेपालीहरुको सेवामा रहने प्रतिबद्धता जनाउँदै आगामी कार्यकालमा निराश नबनाउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । उनले कोभिड १९ महामारी नियन्त्रणमा दिनरात खटिएका फ्रन्टलाइनरहरुलाई पनि सम्मान प्रकट गरेका छन् ।

त्यस्तै उनको नेतृत्वमा विद्यार्थीहरुलाई मानसिक सचेतना सम्बन्धी कार्यक्रम समेत गरिएको थियो । एनआरएनए एनएसडब्लु र अस्ट्रेलिया नेपाल पब्लिक लिंक इन्क्लुसिप (एएनपिएल) को संयुक्त आयोजनामा गत बर्ष जुलाई ११ र १२ तारिख सेन्टजर्ज अस्पताल हाताभित्र रहेको रिसर्च सेन्टरको हलमा विद्यार्थीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रम गरिएको थियो । जसमा दर्जनौँ विद्यार्थीहरुले लाभ लिन सफल भएका थिए ।

दोस्रो पटक संयोजक पदमा जित हासिल गरेका उनलाई आफ्नो कार्यकाल अझै सबल र प्रभावकारी बनाउने ठूलो अवसर आएको छ । एनआरएनएमा युवासहित सबै नेपालीहरुलाई ल्याउने, यसको संस्थागत विकास गर्ने र सक्षम नेपाली संस्था बनाउने जिम्मेवारी बहन गर्ने मौका उनले दोस्रो पटक पनि पाएका हुन् । उनलाई यो दुई बर्षे कार्यकाल अझै सम्झनलायक बनाउँदै अर्का  पटक एनसीसी अध्यक्षको निम्ती सहज ढोका खोल्ने महत्वपूर्ण अवसर पनि रहेको एनआरएनए अभियन्ताहरुले बताएका छन् ।