भगवान् विराजमान गराउने साइतमा १७ को निधन, उजाडियो प्रधानको परिवार

शोभाभगवती चरिनगल्लीमा रहेको भरतबहादुर प्रधानको चारतले पिल्लरसहितको घरमा सप्ताह प्रारम्भ गर्ने साइत वैशाख १२ गते शनिबार ठीक १२ बजेका लागि तय गरिएको थियो । त्यसैका लागि प्रधान आफ्ना परिवार र नातेदारसहित यसको तयारीमा जुटिरहेका थिए । तर, बिडम्बना अकल्पनीय रुपमा आएको बिनाशकारी भूकम्पले उनको परिवारका सदस्य र नातेदारसहित १७ जनालाई सदाका लागि लिएर गयो ।

सप्ताह लगाएर पितृतर्पण गर्ने श्रीमती चन्द्रवदन प्रधानको १० वर्षदेखिको इच्छा पूरा गर्ने उद्देश्यले सप्ताह प्रारम्भ मात्र के गरिएको थियो,एक्कासी आएको महाभूकम्पले श्रीमती, छोरा, नाति, नातिना, ससुरा, सम्धीसहितका परिवारका सदस्यहरुको ज्यान लिएपछि उनको जीवनको घाम अब कहिल्यै उदाउन नसक्ने गरी अस्ताएको छ ।

आफ्ना श्रीमती,छोरा , ससुरा हरिप्रसाद श्रेष्ठ, ठकुलक्ष्मी श्रेष्ठ, छोरी हेमकला प्रधान, नातिनी पूर्वानी श्रेष्ठ, सम्धिनी चञ्चलादेवी श्रेष्ठ, भतिजी दुर्गा प्रधान, बुहारीको भाइको श्रीमती विनिता राजभण्डारी, बुहारीको भाउजु एलिसा राजभण्डारी, छोराको जेठानको छोरा अर्जुनराज भण्डारी, भाइ उत्तम श्रेष्ठ, बहिनी सीता प्रधान देवकोटा, साली पद्मा अमात्य, साली केशववदन गुरुवाचार्य, साली रत्ना श्रेष्ठलाई सधैका लागि प्रधान यतिबेला सम्हालिनै नसकिने गरी विक्षिप्त छन्, आजको समाचारपत्र दैनिकमा खबर छ ।