बेलायतको एनआरएनमा चुनाब लड्दै झापाका व्यवसायी ढकाल

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको सदस्य पदमा उम्मेद्वारी दिएका व्यवसायी दिपक ढकालले चुनावी दौडाहा तिव्र बनाएका छन् ।प्रवासमा रहँदा परिवार भनेकै एनआरएनए भएकाले आफूले सदस्य पदमा उम्मेद्वारी दिएको उनले बताए ।

विगत २८ बर्षदेखि बेलायतलाई कर्मथलो बनाएका उनले सबै नेपालीको आवाज बोल्ने उद्धेश्य बोकेर एनआरएनएको चुनावमा लागेको बताए ।

बेलायतमा रहेका एनआरएनहरुको लागि नेपाली नागरिकताको विषयमा पहल गर्ने, निर्वाचित हुने नेतृत्वलाई राम्रा कामहरु गर्नको निम्ती निरन्तर खबरदारी गर्ने उनको दृढता छ ।

यसबारे जानकारी दिदै लण्डन नेपाल न्यूजसँग उनले भने, एनआरएनएभित्र सबै नेपालीको आवाज आउनुपर्छ, उम्मेद्वारी दर्ता गरेर मात्र होइन उनीहरुको आवाज बोल्न सक्नुपर्छ, म त्यो आवाज बोल्छु ।

बेलायतमा प्रपर्टी व्यवसायमा संलग्न रहेका उनी एनआरएनए एनसीसीका बलिया उम्मेद्वार हुन् । व्यवसायसँगै समाजसेवाको यात्रामा समेत संलग्न रहेका उनले आफ्नो पक्षमा जनमत कमाइरहेका छन् ।

नेपालको झापा भद्रपुर घर भएका उनी तीन दशकदेखि बेलायतको प्लेमाउथमा बस्दै आएका छन् । प्रपर्टीको अलावा, ठुलो सुपर मार्केटबाट ग्रोसरी,सामग्रीको होलसेल व्यापार गर्दै आएका उनी साउथ वेस्ट नेप्लिज सोसाइटीको सक्रिय अध्यक्षको रुपमा स्थानिय निकाय सँग जोडिएर समाजमामा सक्दो सेवा गरेका छन् ।

२०७२ सालमा नेपालमा गएको भूकम्पको समयमा एनआरएनए यूके मार्फत १० लाख रुपैया सहयोग गरेका उनले समाजसेवा तथा बेलायतको मात्र नभएर स्वदेशका नेपालीहरुलाई समेत मर्दा पर्दा सहयोग गर्दै आएका छन् ।

एनआरएनएको सदस्यमा किन ? भन्ने प्रश्नमा उनले विदेशमा बस्ने प्रवासी नेपालीहरुलाई सहज गरी सदस्यताको लागि पहल गर्ने, धन सम्पतीको व्यवसायमा सहजीकरण गरिदिने, बुढापाका नेपालीहरुलाई पर्ने समस्या समाधानको निम्ती पहल गर्ने, यहाँका नेपालीहरुलाई रोजगारी लगायतका विषयमा डटेर काम गर्ने प्रतिबद्धता जनाए ।

लण्डन नेपाल न्यूजसँग उनले भने,बेलायतमा हुर्कदै गरेका नेपाली युवा युवतीहरुको निम्ती शिक्षा र संस्कृति सिकाउन स्कूलको व्यवस्था गर्ने  तथा वृद्धबुवा आमाहरुको निम्ती नेपाली भाषा, नेपाली खानासहितको व्यवस्थित केयरहोम बनाएर सबै नेपाली भाषीलाई एकैठाँउ राखेर सेवा गर्ने समेत रहेको उनको भनाई छ ।

संस्थाको कार्यसमिति सदस्यमा निर्वाचित भएमा संस्थाको लक्ष्य अनुसार आफूले काम गर्ने बताउँदै ढकालले आफूलाई मतदान गर्न पनि आग्रह गरेका छन् । अनलाइनबाट हुने मतदान प्रक्रियामा सहभागी भएर मतदान गर्न उनले सबै मतदातालाई आग्रह गरेका छन् ।

बेलायतमा यही जुलाई ३१ तारिखका दिन गैर आवासीय नेपाली संघ (एनआरएनए )को चुनाव हुँदैछ ।