महाविनाशकारी भुकम्पले मुलुकको अधिकांश क्षेत्रको जनजीवनलाई नराम्रोसँग गाँज्यो । आवासलगायतको भौतिक संरचनाहरु ध्वस्त हुदा मानिसहरु घरवार विहीन बने । यसैको एउटा उदाहरण बनेको छ कीर्तिपुर नगरपालिका अन्तर्गत पर्ने टौदहको च्यूउ गाउँ । भूकम्पले बस्ने घर पनि भत्काइदिएपछि यहाँका मानिसहरु खुल्ला आकाशमा जीवन गुजार्नु बाध्य भएका छन् । भत्केका घरहरुले नयाँ जीवन पाउन महिनौ लाग्न सक्छ । त्यसैले यहाँका भूकम्प प्रभावितहरुको यही विवशतालाई पन्छाउदै अस्थायी आवासमार्फत राहत दिनेभएका छन्–लायन्स इन्टरनेशनल क्लबका सदस्यहरु । च्यूउ गाउँका विष्णुमाया, गुणमायाँ, गंगामाया र रेणु महर्जन लगायकता अधिकांश स्थानीयहरु अब भत्केका आफना घरहरुले नयाँ जीवन नपाएसम्म यसरी नै जसोतसो गुजारा गर्ने मनस्थितिमा छन् । उनीहरुलाई अस्थायी बसोबासका लागि यो व्यवस्था मिलाइदिएको हो, लायन्स इन्टरनेशनल क्लबले । भूकम्पले च्यूउ गाउँका अधिकांश पूराना घरहरु ध्वस्त भएका छन् । भूकम्पले पलभरमै घरवारविहीन बनाइदिएपछि यहाँका स्थानीयहरु चौरमा बास बस्दै आएका छन् । अरु प्रभावित क्षेत्रका पीडितहरुलाई जस्तै यहाँका स्थानीयहरुलाई पनि दुई छाक खानको भन्दा पनि ओत लाग्ने छानोको चिन्ता छ । च्यू गाउका वासिन्दाहरुको यही पीडालाई आत्मसाथ गर्दै लायन्स क्लबले अस्थायी आवास निर्माण गरेका छन् करिब चार रोपनी जग्गामा । वातावरणीय अनुकूलतालाई समेत ध्यानमा राखी बनाइएका यस आवासमा भूकम्प पीडितहरु छ महिनासम्म ओत लाग्न सक्छन् । अहिले यस आवासमा ६० घरपरिवारले आश्रित लिइरहेको लायन्सका पदाधिकारीहरु बताउँछन् । लायन्सले सरकार र स्थानीय वासिन्दाहरुसँग समन्वय गरी अस्थायी घरहरु निर्माण गर्न लागेको जानकारी समेत गराएको छ ।
लायन्सको अभियानलाई साथ दिन दिल्लीवाट नेपाल आउनुभएका अन्तराष्ट्रिय निर्देशक नरेश अग्रवालले लायन्स कोषमार्फत प्रभावितहरुलाई एक लाख अमेरिकी डलर सहयोग गरिने जानकारी दिनुभयो ।
यो अस्थायी आवास लायन्सका काठमाडौ मेल्मीन्स जोन्स, लाली गुरास, हिमालय, सुकुन्दा, प्रोफेशनल लगायत ६ वटा क्लबहरुले संयुक्त रुपमा निर्माण गरेको हो ।







