एनआरएनए युरोप उपसंयोजकमा ललित न्यौपानेले गरे चुनाव लड्ने घोषणा

लन्डन । बेलायतका एनआरएनए अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने आईसीसी निर्वाचनमा यूरोप क्षेत्रीय उपसंयोजकको पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए यूकेमा तीन कार्यकाल र आइसीसीमा एक कार्यकालको अनुभव लिइसकेका न्यौपाने अब आइसीसीकै थप जिम्मेवारी बोक्ने अभिलाशासहित उम्मेदवार बन्न लागेका हुन् ।

‘युरोप क्षेत्रका सबै सहकर्मी एवम् अग्रजहरुसँगको सल्लाह र छलफलपछि उपसंयोजक पदमा उम्मेदवारी दिने निष्कर्षमा पुगेको छु’, उनले भने, ‘उहाँहरुकै हौसला र प्रोत्साहनले संस्थामा अझै महत्वपूर्ण जिम्मेवारीमा रहेर योगदान गर्ने आकांक्षा पलाएको छ ।’

यसअघि एनआरएनए यूकेमा कार्यसमिति सदस्यका रुपमा इन्ट्री गरेका न्यौपानेले त्यसपछि क्रमशस् सहकोषाध्यक्ष, उपाध्यक्ष र आइसीसी सदस्यका रुपमा काम गरेका थिए ।

सन् २०१७-१९ मा एनआरएनए यूकेको उपाध्यक्ष रहेका उनी राज्य समन्वय विभागका संयोजक समेत थिए । सोही कार्यकालमा न्यौपानेकै विशेष पहल र सक्रियतामा बेलायतका चारवटै राज्यमा एनआरएनए यूकेका राज्य समन्वय परिषदहरु स्थापना भएका थिए ।

हाई स्किल्ड माइग्रेन्टका रुपमा सन् २००५ मा बेलायत आएका न्यौपाने अहिले बेलायत तथा नेपालमा प्रपर्टी, हस्पिटालिटी लगायतका व्यवसायमा संलग्न छन् । थुप्रै सामाजिक र च्यारिटी संस्थामा आबद्ध उनी बेलायतस्थित आधा दर्जन बढी संस्थामा सल्लाहकार छन् । न्यौपाने अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष पनि हुन् ।

एमए, बिएलसम्मको अध्ययन पूरा गरेका न्यौपाने अध्यात्म र साहित्यमा पनि रूचि राख्छन् । जीवन विज्ञान यूकेको स्थापनाका लागि विशेष पहल गरेका उनी अन्तरास्ट्रिय स्तरमा क्रियाशिल ‘प्रो इलाइट क्लब’ मा पनि सक्रिय छन् ।

न्यौपानेले एनआरएनए युरोप क्षेत्रीय उपसंयोजकको उम्मेदवारका रुपमा आफ्ना एजेन्डा र प्रतिवद्धताहरुसहित चाँडै औपचारिक उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै उनले आफू एनसीसी देखि आईसीसी हुँदै एनआरएनएको विभिन्न तहतप्कामा काम गरिसकेको भन्दै अब क्षेत्रीय उपसंयोजकमा चुनाव लड्न गरी अघि बढेको बताए ।