लण्डन । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले यस पटक २०८ औं भानु जयन्तीको कार्यक्रम भर्चुअल माध्यमद्वारा भब्य रुपमा सम्पन्न गरेको छ। नेपाल लगायत विश्वका विभिन्न देशहरुबाट करीब ५ दर्जन श्रष्टाहरु सहभागी भएको उक्त समारोह ०७८साल असार २५ गते सुक्रबार नेपालको समय अपरान्ह ३ बजे देखि ७ बजे सम्म निरन्तर चलेको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै प्रसिध्द आख्यानकार साहित्यकार कृष्ण धराबासीले आजको सन्दर्भमा आदिकविको महत्व अनि गरिमाको बारेमा चर्चा गरेका थिए ।
नेपाली साहित्यको बिकासक्रममा भानु भक्तनै कसरी आदिकवि हुन सफल भए भनेर फेहरिस्त प्रस्तुत गर्दै उनले भानु आदिकवि मात्र नभएर देशको माटो र संस्कृति संग गांसिएका कालजयी श्रष्टा भएको कुरा ब्यक्त गरे ।
कार्यक्रमको अध्यक्षता गरेका विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईले भानु जयन्ती आजको परिवेशमा फरक ढंगले मनाउंदा केही नयाँपन आएको बिचार राख्दै आदिकविले नेपाली भाषा, साहित्यमा दिएको योगदानको चर्चा गरे ।
भक्ति धारा मार्फत अत्यन्तै सुन्दर काब्यको सृजना गर्ने भानु राष्ट्रलाई भाषिक र सांस्कृतिक रूपमा एकीकरण गर्ने बिराट छवि भएको आफ्नो मत राखेका थिए । प्रसाईले भानुलाई चिनाउने मोतीराम भट्टको चर्चा गर्दै भानु नेपाली भाषाका मानस पिता भएको बताए ।

पूर्व मन्त्री हरिप्रसाद न्यौपानेको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा पूर्व राजदूत प्रह्लाद्कुमार प्रसाईले भानु आफ्नो देश,नेपाली जातिमा गर्व गर्ने महापुरुष भएको, रामायण रचना गर्दा उनले वाल्मीकि रामायणलाई नेपालीपन र ढांचामा प्रस्तुत गरेर संस्कृतको बोलवाला भएको नेपाली समाजमा भाषा, साहित्यको उत्थानमा क्रान्तिनै गरेको टिप्पणी गरेका थिए ।
संस्थाकी वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले प्रमुख अतिथिको परिचय गर्ने क्रममा वहाँको सरल, निर्मल अनि सादगी व्याक्तित्वको चर्चा गरिन् । धराबासी लिला लेखनका हस्ती एव दर्जनौं अब्बल कृति दिने सर्जक भनेर आफ्नो अभिमत राख्दै उनले धराबासीको ऐतिहासिक पृष्ठभूमीसंग जोडिएको सुन्दर प्रसङ्गहरु जोडेर उनलाई कर्मयोगीको संज्ञा दिइन् ।
यसै गरि विशेष अतिथी एवम विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान युरोप च्याप्टरका अध्यक्ष खगेन्द्र पाठकले बिदेशमा बसेर पनि आफ्नो भाषा संस्कृतिको खातिर आफु निरन्तर लागि परेको आफ्नो भनाई राख्दै आफ्ना केही मुक्तकहरु वाचन गरेका थिए ।
अर्का बिशेष अतिथी प्राध्यापक फणीन्द्रराज निरौलाले कार्यक्रममा वाचित कविताहरुको संक्षिप्त समीक्षा प्रस्तुत गरेका थिए । नेपाली कविताहरु उम्दा कोटीका फरक आयम र स्वाद बोकेर आएका भन्दै सर्जकले छन्द कविताको अध्ययनमा समेत जोड दिए ।
यस्तै विशेष अतिथि प्राज्ञ एवम वरिष्ठ साहित्यकार उन्नती बोहरा शीलाले आफ्ना सुन्दर दुई गीतहरु गाएर कार्यक्रममा नयाँ मिठास, रौनक एवम उर्जा छरेकी थिइन् ।
कार्यक्रममा विशेष अतिथी आदरणीय वयोवृद्ध लोक गायिका पम्फा सिटौलाको स्वरमा ओजपूर्ण, सुमधुर संगिनी गीत प्रस्तुत हुंदा गीतले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। ९१ बर्षीय लोक गायिकाको परिचय संस्थाकी सदस्य राधिका दाहालले प्रस्तुत गरिन् ।
यसै गरि वरिष्ठ साहित्यकार एवम विशेष अतिथी बशुश्री पान्डेले पनि आफ्नो कविता प्रस्तुत गरेकी थिइन् । संस्थाका उपाध्यक्ष तेजेन्द्र प्रसाईले आफ्नो मन्तब्य राख्दै भानु सम्बन्धी कविता प्रस्तुत गरे ।
कार्यक्रममा संस्थाका महासचिव पुकार तिमल्सिनाले सम्पूर्ण श्रष्टा, अतिथी अनि संस्थाका पदाधिकारीहरुलाइ स्वागत गर्दै आफ्नो मन्तब्य राखेका थिए । विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान युरोप च्याप्टरकी महासचिव मन्जु भन्डारीले भाषा प्रतिको आफ्नो अनुरागलाई उजागर गर्दै कविता प्रस्तुत गरेकी थिइन् ।
यसै गरि संस्थाकी सचिव कोपीला शिवाकोटीले एउटा राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन् ।






