लण्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले विहिबार लण्डनमा विशाल प्रदर्शन गरेको छ ।लन्डनस्थित गोर्खा स्मारक अगाडिबाट जुलुस शुरु भएर नगर परिक्रमा पछि एक विशेष प्रदर्शन कार्यक्रम गरिएको थियो ।

लामो समयदेखि विभिन्न मागहरुसहित आन्दोलनमा रहेका गोर्खालीहरुले विहिबार सलार्मी अर्पण गरी घेराउ शुरू गरेका थिए । एकफटक फेरी उनीहरुले लण्डनको प्रधानमन्त्री कार्यालय घेराऊ गर्दै सरकारलाई झकझकाएका छन् ।












बिहान साढे ११ बजेबाट शुरू भएको जुलुसमा सत्याग्रहका सचिब धन गुरुङको सञ्चालन रहेको थियो भने समितिका संयोजक कृष्णबहादुर राईले आफूहरुले जारी गरेको ध्यानाकर्षण प्रेस वक्तब्य पढेर सार्वजनिक गरेका थिए ।
विभिन्न प्लेकार्डसहित पुरुष, महिला सबैले आफ्नो तक्मा र नेपाली पोशाक सहित उत्रिएका उक्त जुलुसमा सत्याग्रह समितिका अभियन्ता ज्ञानराज राई , प्रमुख संयोजक कृष्णबहादुर राई लगायतले सम्बोधन गरेका थिए ।
निवृत्तिभरण,क्षतिपूर्ति लगायतका विभिन्न माग हरु गर्दै यसअघि जुन १५ मा व्रिटिश प्रधानमन्त्री कार्यालय घेराउ गरेका उनीहरुले जुलाई १ अर्थात विहिबारबाट भोक हड्ताल गर्ने चेतावनी दिएका थिए । तर आन्दोलनरत गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले नेपाल सरकारको पत्रपछि आमरण अनसन आउदो जुलाइ २१ अर्थात साउन ६ गतेसम्म स्थगन गरिएको छ। तीन हप्ताको अवधिमा आफ्ना मागहरु सम्बोधन नभए आमरण अनशन शुरू गरिने संयोजक राईले बताए ।
सत्याग्रहलाई नेपाल सरकारले एक पत्र लेख्दै उनीहरुका मागहरु सम्बोधन गर्न पहल गर्ने जानकारी दिएसँगै तत्कालको लागि हड्ताल रोकिएको हो ।
लण्डन नेपाल न्यूजसँग कुराकानी गर्दै राईले व्रिटिश सरकारले आफ्ना मागहरुको विषयमा चासो नदेखाए अनशन गर्ने बताए । उनले भने, ‘हामी जुलाई १ गतेबाटै भोक आन्दोलन गर्न लागेका थियौँ, तर नेपाल सरकारले सहमतिको पहल गर्दै पत्राचार गरेपछि तीन हप्ताको लागि स्थगन गर्यौँ ।’
यसअवधिमा फेरी सरकारलाई झकझकाउने भन्दै उनले अझै पनि सुनुवाई नभए निर्धारित आन्दोलनहरु शुरू गर्ने बताए । नेपाल सरकारले पठाएको पत्रमा आफ्ना मुद्दा समाधानका लागि बेलायत सरकारसँग प्रत्यक्ष रूपमा वार्ता गर्न नेपाल सरकारले पहल गरिरहेको जानकारी पाएको संघर्ष समितिद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।
संघर्ष समितिले जुलाइ २१सम्म बेलायतबाट कुनै प्रतिक्रिया नआए प्रधानमन्त्री कार्यालय अगाडि सत्याग्रह र अन्य कार्यक्रम गर्न बाध्य हुने दोहोरयाएको छ । गोर्खा अभियन्ताहरु ज्ञानराज राई, धन गुरुंङ र पुष्पा राणा घले आमरण अनसनमा बस्न राजी भएका थिए ।
गोर्खाहरूले अन्य बेलायती सिपाहीसरह दर्जाअनुसारको पूर्ण निवृत्तिभरण पाउनुपर्ने, सन् १९७५ अघि नोकरीबाट बर्खास्त गरिएकाहरूलाई एक पटकका लागि एकमुष्ट रकम दिइनुपर्ने, दर्जा र सेवाको अवधिअनुसार अन्यायको क्षतिपूर्ति पाउनुपर्ने, नियमित सेवापश्चात् निवृत्त वा बर्खास्त भएका तर हाल मृत्यु भइसकेका बेलायती गोर्खाका छोराछोरीहरूले सद्भावना भुक्तानी (गुडवील पेमेन्ट) पाउनुपर्ने लगायतका माग राख्दै गोर्खाहरु आन्दोलन गरिरहेका छन् ।
विहिबार भएको भव्य जुलुसको लण्डन नेपाल न्यूजले प्रत्यक्ष प्रशारण गरेको थियो । उक्त भिडियो हालसम्म डेढलाख भन्दा धेरैले हेरेका छन् ।






