बेलायतमा तेस्रो लहरः फेब्रुअरीपछि सबैभन्दा धेरै सङ्क्रमित देखिए!

लण्डन । बेलायतमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखा परेको छ । यूकेका स्वास्थय अधिकारीहरुले कोरोना भाइरसको सङ्क्रमण दर फेरि बढ्न थालेको बताएका छन् । स्वास्थ्य मन्त्रालयले गएको फेब्रुअरी महिनादेखि यता दैनिक सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्र ११ हजार ६२५ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

चौबीस घन्टा यता यतिधेरै सङ्क्रमित थपिएको गएको फेब्रुअरी महिनापछि यो पहिलो पटक भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको मंगलबार बेलायतका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पछिल्ला यी सङ्क्रमितहरु समेत गरी आजसम्म बेलायतमा सङ्क्रमित हुनेको संख्या ४६ लाख ५१ हजार पुगेको पनि बताइएको छ । त्यसैगरी २४ घन्टामा यहाँ २७ जनाको कोरोनाका कारण निधन भएको छ । यो समेत गरी बेलायमा यस सङ्क्रमणबाट १ लाख २८ हजार जनाको ज्यान गएको छ ।

उता सरकारले कोरोना भाइरसको संक्रमणका कारण देशमा लगाएका प्रतिबन्धहरु हटाउने क्रममा रहेको बताएको छ । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले निकै लामो समयदेखि जारी रहेका कतिपय प्रतिबन्धहरु हटाउने प्रक्रियामा रहेको बताए । यसअघि पनि बेलायतका स्वास्थ्य अधिकारीहरुले तेस्रो लहर आउने चेतावनी दिइसकेका छन् । प्रतिबन्धहरु जुलाई २१ मा सकिने भएपनि फेरी २ हप्ता थप गरिएको छ । बेलायत पूर्णरुपमा लकडाउन फ्रि को अवस्थामा आउन सकेको छैन ।