काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जसअनुसार संघको चालूगत खर्चका लागि ४१.२ प्रतिशत अर्थात ६ खर्ब ७८ अर्ब ६१ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यस्तै पुँजीगततर्फ २२.७ प्रतिशत अर्थात ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरिएको छ।
वित्तीय व्यवस्थापनतर्फ १२.६ प्रतिशत बजेट अर्थात २ खर्ब ७ अर्ब ९७ करोड रुपैयाँछुट्टाइएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।
त्यस्तै प्रदेश र स्थानीय तहमा हस्तान्तरण हुने रकम २३.५ प्रतिशत अर्थात ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ ।
विनियोजन गर्ने खर्च रकममध्ये राजश्वबाट १० खर्ब २४ अर्ब ९० करोड र वैदेशिक अनुदानबाट ६३ अर्ब ३७ करोड जुटाइने पौडेलले बताए।
नपुग ५ खर्ब ५९ अर्ब रुपैयाँ ऋण लिइने छ। जसअनुसार ३ खर्ब ९ अर्ब वैदेशिक ऋण र २ खर्ब ५० अर्ब आन्तरिकबाट उठाइने उनले बताए।
यसपटक सरकारले अध्यादेश मार्फत बजेट ल्याएको हो । नयाँ संविधान घोषणा भएपछि पहिलोपटक यसप्रकारको बजेट लयाइएको हो ।
जसमा वृद्धभत्ता वृद्धिदेखि कर्मचारीको तलव वृद्धिसम्म समावेश भएको छ । कोरोना महामारीबाट अर्थतन्त्रमा परेको प्रभाव न्यूनिकरण गर्दै स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गरेको सरकारले सबैभन्दा ठूलो रकम भने शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।
आगामी आर्थिक वृद्धिदरको लक्ष्य ६.५ प्रतिशत हुने अनुमान गरिएको छ । त्यस्तै मुद्रास्फिर्ती पनि ६.५ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण गरिएको छ ।
अर्थमन्त्रीका अनुसार अब वार्षिक २० लाखसम्म कारोबार भएका करदाताले ९० प्रतिशत कर छुट पाउने छन् । यस्तै, वार्षिक २० देखि ५० लाखसम्म कारोबार गर्नेले ७५ प्रतिशत तथा ५० देखि १ करोडसम्म कारोबार गर्नेले ५० प्रतिशत आयकर छुट पाउने भएका छन् ।
कोभिड-१९ बाट अत्यधिक प्रभावित होटल, ट्राभल, टेकिङ यातायात हवाइ चलचित्र र सञ्चारगृहको करयोग्य आयमा १ प्रतिशत मात्रै आयकर लाग्ने भएको छ । ती व्यवसायको नोक्सानी सार्न सक्ने अवधि पनि बढाएर १० वर्ष पुर्याएको छ ।
कम्पनी ऐन २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेसन ऐन २०१४ अनुसार आव ०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नवीकरण नगरेका कम्पनी तथा फर्मले ०७८ असोज मसान्तभित्र नवीकरण शुल्क र जरिवानाको १० प्रतिशत बुझाएमा बाँकी शुल्क तथा जरिवाना छुट दिइने छ ।
सरकारले कोरोनाको कारण समस्यामा परेका उद्योलाई आय करमा छुट तथा सहुलियत दिने भएको छ ।
हेर्नुहोस् पूर्णपाठ






