काठमाडौं, २० कार्तिक । एमालेले पाएकामध्ये बाँकी पाँच मन्त्रालयका लागि मन्त्री छान्ने अन्तिम अधिकार स्थायी समितिले पार्टी अध्यक्षसमेत रहेका ओलीलाई दिएको थियो । तथापि उनले शुक्रबार बिहानै वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर मन्त्रीको अन्तिम नामावली तयार पारेका हुन् । ओलीको मन्त्री हुने सूचीमा नेपाल पक्षका दुई नेताको नाम थियो ।उपाध्यक्षद्वय भीम रावल र अष्टलक्ष्मी शाक्य । रावल उपप्रधानसहित रक्षा र शाक्य श्रम तथा वैदेशिक रोजगार मन्त्रीका लागि छानिए ।
प्रधानमन्त्री कार्यालयले अपराह्न चार बजे मन्त्रीहरुको सपथका लागि राष्ट्रपति कार्यालयसँग समय माग्यो । नवनियुक्त मन्त्रीहरुलाई टेलिफोनमार्फत सपथका लागि तयार भएर आउन बालुवाटारले सूचना दियो । सबै मन्त्री राजीखुसीका साथ दौरा सुरुवाल लगाएर तयार भए । तर मन्त्रीमा नाम चयन भएकी शाक्य सम्पर्कमै आइनन् । शाक्यसँग सम्पर्क नभएपछि ओली तनावमा परे ।
मन्त्रीले फोन उठाएनन्, मन्त्रीका श्रीमानले उल्टै हप्काए
शाक्यलाई पटकपटक ओलीका स्वकीय सचिव रमेश बज्राचार्यले टेलिफोन गरे । तर उनको फोन उठेन । शाक्यको फोन नउठेपछि उनका श्रीमानसमेत रहेका एमाले अनुशासन आयोग प्रमुख अमृतकुमार बोहारालाई खबर गरियो । ‘अष्टलक्ष्मी कमरेड मन्त्रीका लागि छनोट हुनुभएको छ । सपथका लागि ४ बजे शीतलनिवास आउनुपर्छ । जसरी भए पनि खोज्नुप¥यो ।’ बोहराले शाक्यले मन्त्री पद नलिने जवाफ दिए । ‘उहाँले पहिल्यै पनि भनिसक्नुभएको छ। मन्त्री खाने कुनै इच्छा छैन । पार्टीमा योगदान गरेका अरु कसैलाई मन्त्री बनाए हुन्छ, उहाँलाई खोज्नु पर्दैन । बोहराले शाक्य आफ्नो पनि सम्पर्कमा नरहेको जानकारी गराए ।
भएको रहेछ यस्तो
उपाध्यक्ष शाक्य भूकम्पबाट भएको क्षति पुननिर्माण सम्बन्धी विधेयकमाथिको छलफलका लागि विधायन समितिअन्तर्गतको उपसमिति बैठकमा सहभागी हुन सिंहदरबार पुगेकी थिइन् । बैठक सकिएपछि केहीबेर सिंहदरबारमै रहेको पार्टी संसदीय दलको कार्यालयमा पसिन् ।
केहीबेर सभासद् र पार्टी कार्यकर्तासँग छलफल गरेपछि उनी सिधै निवास फर्किइन् । जतिबेला बालुवाटारबाट मन्त्रीका लागि फोन आएको थियो । त्यतिबेला उनी सार्वजनिक गाडीमा ठेलमठेल गरेर यात्रा गर्दै थिइन् । ‘गाडीमा भीडभाड थियो, फोन आएकै थाहा भएनछ’, शाक्यले काठमाण्डु टुडेसँग भनिन्, ‘घर आएपछि पनि रमेशजीले फोन गर्नुभयो, प्रधानमन्त्रीज्यू बोल्नुभएको थियो । मैले मन्त्री पद चाहिएको छैन भन्ने जवाफ दिएँ ।’ शाक्यले अस्वीकार गरेपछि ओलीले नेतृ शान्ता मानवीलाई श्रम तथा वैदेशिक रोजगार मन्त्री बनाए ।






