एमालेमा को को जिल्लिए ?

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार गठन भएको झण्डै एक महिनापछि दोस्रो पटक मन्त्रीपरिषद् विस्तार गरेका छन् । विस्तारित मन्त्री परिषद्मा ६ जना उपप्रधानमन्त्री बनाएर नयाँ उनले नयाँ रेकर्ड राखेका छन् ।

बिहीबार विस्तारित मन्त्रीपरिषदमा एमाले उपाध्यक्ष भीम रावल, माले महासचिव सिपी मैनाली, र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्री बनाइएको छ । यसअघि फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार, राप्रपा नेपालका अध्यक्ष कमल थापा,एमाओवादी सतिव टोपबहादुर रायमाझी उप प्रधानमन्त्री भइसकेका छन् ।

उप प्रधानमन्त्री मध्ये रावललाइ रक्षा, मैनालीलाई महिला, बालबालिका तथा समाज कल्याण र केसीलाई गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै एमाले उपमहाचिव विष्णु पौडेललाई, अर्थ, केन्द्रीय सदस्य शेरधन राइलाई सुचना तथा प्रविधि, र नेता आनन्द पोखरेललाई पर्यटन तथा नागरिक उड्यन मन्त्रालय जिम्मेवारी दिइएको छ भने शान्ता मानवीलाई विनाविभागिय मन्त्री बनाएको छ ।

को को जिल्लिए ?

शिर्ष नेतासँगको परामर्शमा मन्त्रीहरुको टुङ्गो लगाउने जिम्मा पाएका प्रधानमन्त्री ओलीले बिहीबार बिहान नेता माधव नेपालसँग छलफल गरेका थ्एि । नेपालले आफ्नो खेमाका पसुपति चौलागाई, श्रीमाया थकाली, शत्रुधन महतो लगायतको नाम सिफारिस गरेका थिए । तर उनले सिफारिस गरेका कोहीपनि मन्त्रीमा परेनन् ।

ओलीले अश्वासन दिएका आफ्नै खेमाका भानुभक्त ढकाल, रवीन्द्र अधिकारी लगायतलाइृ पनि मन्त्रीका लागि आश्वासन दिएका थिए । तर उनीहरु पनि जिल्लिए । यस्तै प्रकाश ज्वाला, बैजनाथ अधिकारी, श्रीमायाँ थकाली, राजेन्द्र पाण्डे पनि ओलीको रोजाइमा परेनन् । मन्त्री छनौटलाई लिएर एमालेमा व्यापक असन्तुष्टि पैदा भएको छ ।