लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको पाँचौ नयाँ नेतृत्वको चयनको निम्ती शनिवार उम्मेद्वारी दर्ता गरिदै छ । सहमतिमै कार्यसमिति चयन गर्ने प्रयासका बाबजुद निर्वाचनको निम्ती उम्मेद्वारी दर्ता गर्न लागिएको हो ।
निर्वाचन सम्पन्न गर्नको निम्ती रमेश सराङकोटीको संयोजकत्वमा संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य रहेको निर्वाचन मण्डल गठन गरिएको छ ।
शनिबार दिउँसो १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म उम्मेद्वारी दर्ताको समयावधि तोकिएको छ । निर्वाचन मण्डलेले जनाए अनुसार आइतबार बेलुका ८ बजे उम्मेदवारको पहिलो नामावली प्रकाशन गरिने छ । त्यस्तै सोमबार मध्यान्ह १२ बजेसम्म उम्मेदवारहरुविरुद्ध दावीविरोध, उम्मेदवारी फिर्ताको कार्यसूची तय गरिएको छ भने मंगलबार बेलुका ८ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
यस अघि नयाँ नेतृत्व चयनको निम्ती सहमति जुटाउने प्रयास गरिएको थियो । तर सफल हुन सकेको छैन । यद्यपि सहमतिको निम्ती शाखाका सल्लाहकार भगीरथ योगी, संस्थापक अध्यक्ष नवीन पोखरेल र वर्तमान अध्यक्ष नरेश खपांगी सम्मिलित कार्यदल गठन गरि कार्यभार दिइएको छ । उक्त कार्यदलले सहमति गर्न नसकेको खण्डमा अन्ततः निर्वाचन मार्फत नै नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढ्ने भएको छ ।
जुन १३ मा सम्पन्न हुने निर्वाचनमा कुल ४३ मतदाताले भाग लिनेछन् भने १५ पदको निम्ती चुताव हुनेछ ।






