लण्डन ।गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार प्रेम गाहा मगरले संघको सदस्यता अभियानमा सहभागी बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् ।
गाहा मगरले आगामी ३१ जुलाईमा हुने निर्वाचनमा जुन १० सम्ममा दर्ता भएका सदस्यहरुले मात्रै सहभागी हुन पाउने भएकाले जतिसक्दो छिटो आफ्नो सदस्यता दर्ता गर्न आग्रह गरेका छन् ।
एक भिडियो सन्देश जारी गर्दै गाहा मगरले भनेका छन्, ‘हामी प्रवासी नेपालीहरुको साझा संस्था एनआरएनएको सदस्यता लिने अवसरलाई सदुपयोग गर्नुहुन अनुरोध छ ।’
गाहा मगरले विदेशमा रहेका नेपालीहरुलाई एकत्रित गर्ने र मातृभूमिको सेवामा योगदान पुर्याउने एनआरएनएको पवित्र उद्देश्य प्राप्तिमा बेलायतवासी समग्र नेपालीहरुको साथ, सहयोग र सहभागिता रहने छ भन्ने विश्वास व्यक्त गरेका छन् ।
एमआईएस प्रणाली अन्तर्गत अनलाइन सदस्यता आवेदन गर्नु पर्ने भएकाले केही समस्या भएमा स्वयमसेवकहरुले सहयोग गर्ने उनले स्पष्ट पारेका छन् । गाहा मगरले प्रौढ उमेरका बुवा आमाहरुलाई सदस्यता लिने प्रक्रियामा सहयोग पुर्याउँन पनि स्वयम्सेवकहरुलाई आग्रह गरेका छन् ।
अपिलमा उनले आफूँ आगामी कार्यकालका लागि अध्यक्ष पदको उम्मेदवार रहेको बताउँदै विगतमा जस्तै माया, ममता, साथ र सहयोगका लागि आग्रह गरेका छन् ।
गाहामगरले लिखित अपिलसमेत जारी गरेका छन् । उक्त अपिलमा उनले आफ्ना अजेण्डा उल्लेख गरेका छन् । संस्थालाई पारदर्शी बनाउने, भूतपूर्व ब्रिटिश गोरखा सैैनिकहरुको समस्या समाधान गर्ने, नेपाली समुदायलाई थप एकजुट बनाउने, प्रवासी नेपाली समुदायको हित गर्दै मातृभूमिको सेवामा योगदान पुर्याउने, विदेशमा नेपाली भाषा, कला र संस्कृतिको प्रबद्र्धन गर्ने, युवा पुस्ताको आकर्षण र सहभागिता वृद्धि लगायतका अजेण्डा गाहा मगरले अघि सारेका छन्।विगतमा दुई कार्यकाल निर्वाचित भएर उपाध्यक्षका रुपमा काम गरेका प्रेम गाहामगर अनुभवी उम्मेदवार मानिन्छन् ।
(अपिल भिडियो )






