एनआरएनए युकेका ४ उपाध्यक्षले आर्थिक घोटाला मुद्दाबारे लाईभ अपडेट गर्ने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका चार उपाध्यक्षहरुले संस्था भित्रको आर्थिक पारदर्शिताका लागि गर्दै आएको पहल र अदालती प्रक्रियाका बारेमा नेपाली समुदायलाई सार्वजनिक रुपमा जानकारी दिने भएका छन । आगामी आइतबार (२५ अप्रिल, २०२१) मा समाचार माध्यमहरुमा लाइभ प्रसारण गरि खुला बहस मार्फत बेलायतस्थित नेपाली समुदायलाई उनिहरुले जानकारी दिन लागेका हुन् ।
भर्चुअल रुपमा गरिने, “एनआरएनए युकेको आर्थिक पारदर्शिता सम्बन्धी मुद्दा कहाँ पुग्यो ? खुल्ला बहस,” कार्यक्रमको बेलायतस्थित नेपाली मिडियाहरुले लाइभ स्ट्रिम समेत गर्ने भएका छन् ।
अपरान्ह ४ बजे सुरु हुने कार्यक्रममा उपाध्यक्षहरु प्रेम गाहामगर, रामचन्द्र पोखरेल, मोहन कार्की र नारायण कंडेल सहभागी हुनेछन । त्यस्तै, पूर्व उपाध्यक्ष शेर सुनार र इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष एलबीजेड गुरुङ पनि उनीहरु सँगै रहनेछन । उक्त खुल्ला बहसको लाइभ प्रसारण लण्डननेपालन्युज डटकम र ग्लोवलनेप्लिज डटकम“ब्रिटिशखबर डटकम”लगायतका मिडियाले गर्नेछन् ।

एनआरएनए युकेको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरिसकेका प्रेम गाहामगरलगायतका कार्यसमितिका पदाधिकारीहरुले नै सन् २०१७-१९ कार्यकालमा संस्थाको हिसाबकिताब पारदर्शी नभएको भन्दै मुद्दा दायर गरेका हुन्। “हामीले आफै संलग्न संस्था विरुद्ध मुद्दा हालेको भनी बेलायतस्थित जनसमुदायलाई भ्रममा पार्न खोजिएकाले त्यसबारे स्पष्ट पार्न खुल्ला बहस गर्न लागेका हौँ,”, उपाध्यक्ष प्रेम गाहामगरले भने, “तपाईहरुलाई हाम्रा एजेण्डा र हाम्रा गतिविधिका बारेमा कुनै पनि जिज्ञासा भए सोध्न सक्नु हुनेछ,’ उनले भने।