एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर पक्राउ

लिस्बन। डेढ लाख युरो ठगेर फरार एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर पक्राउ परेका छन्।

एनआरएनए नेता कुँवरले आफ्नो व्यवसाय लक्ष्मी ट्राभल्स मार्फत १६० भन्दा बढी नेपाली, केही बंगलादेशी र भारतीय नागरिकको हवाई टिकेट र रेमिट्यान्सको समेत गरेर डेढ लाख युरोभन्दा ठगी गरेर फरार भएका थिए ।

सयौ श्रमिकहरुलाई ठगी गरेर एनआरएनए नेता कुँवर फरार भएपछि पिडितहरुले पोर्चुगलको स्थानीय प्रहरीमा उजुरी गरेका थिए। पिडितहरुको उजुरीकै आधारमा पोर्चुगलमा रहेका सामाजिक संघसंस्था र महाबाणिज्यदुतावासको सर्वपक्ष छलफल र बैठकबाट निज कुँवरको नेपालमा रहेको सबै चलअचल सम्पत्ति रोक्का गर्ने सरकारी प्रक्रिया समेत अगाडी बढेको छ।

महाबाणिज्यदुतावास लिस्बन र नेपाली दुतावास फ्रान्सले समेत नेपालीहरुलाई ठगी गर्ने निज कुँवरमाथि कारवाही गर्न स्थानीय प्राशासनसंग सहयोग मागेपछि उनी उम्किन सक्ने कुनै पनि बाटाहरु रहेनन्। बाध्य भएर कुँवरले पोर्चुगलको स्थानीय प्रहरी पीएसपी अल्भेर्कामा आज आत्मसमर्पण गरेका छन्।

नेपाली लगायतलाई नक्कली टिकट बेचेर ठगी गरेको आरोपमा उनको लक्ष्मी ट्राभल्सको कार्यालयमा प्रहरीले केही दिन अगाडि छापा समेत हानेको थियो।

स्वदेश फर्किन लागेका श्रमिकको अनुमानित २ करोड ठगी गरेको आरोप उनीमाथि छ भने उनको ठगी प्रकरण पर्दाफास भएपछि फरार रहँदै आएका थिए। उनी एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्ष समेत हुन्।

भोइस अफ नेपाल