कवि तथा गीतकार शर्माको गीत ‘जादू’ सार्वजनिक

सिड्नी । कवि तथा गीतकार महेश्वर शर्माले रचना गरेको गीत ‘जादू’ हालै सार्वजनिक भएको छ। जादूमा राजेश पायल राई तथा मेलीना राईको स्वर रहेको छ । गीतमा वरिष्ठ संगीतकार आनन्द राईले संगीत भरेका छन् भने संगीत संयोजन महाराज थापाको रहेको छ।

गीतको म्युजिक भिडियो निर्देशन युवराज वाईबा, सम्पादन विकास दाहाल, छायङ्कन निशाल पौडेल तथा दिपेन्द्र भट्टको रहेको छ। सो गीतको म्युजिक भिडियोमा कलाकारहरु पुष्प खड्का र एलिशा राईको अभिनय रहेको छ। भिडियोमा सर्जक महेश्वर शर्मा र सोनम पाण्डे शर्मालाई समेत देख्न सकिनेछ। निर्माताको रुपमा सोनम पाण्डे शर्मा तथा महेश्वर शर्मा रहेका छन।

कविता र गीतमा कलम चलाउँदै आएका शर्माको यो दोस्रो गीत हो। रुपन्देहीको देवदहमा स्थाईरुपमा बसोबास गर्ने शर्मा हाल अष्ट्रेलियाको सिड्नीमा छन । नेपाली साहित्यमा कलम चलाउँदै आएका शर्माको यस अघि ‘मुटु भरि देश बेकी’ बोलको राष्ट्रप्रति समर्पित गीत आइसकेको छ । साथै उनको कविता संग्रह ‘प्रवासका जूनहरु’ प्रकाशित भइसकेको छ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सदस्य समेत रहेका शर्मा डायस्पोरिक साहित्यमा स्थापित नाम हो ।