रसुवा, ५ भदौ । भूकम्पपछि जिल्लामा वितरित राहत सामग्रीको विवरण सार्वजनिक गर्न यहाँ कार्यरत सबै गैरसरकारी संस्थालाई आग्रह गरिएको छ । जिविस रसुवाले शुक्रबार आयोजना गरेको एकीकृत बैठकमा जिल्लामा क्रियाशील सबै गैससले आफ्नो दाता संस्थाको नाम र प्राप्त रकम, भूकम्पपीडितलाई प्रदान गरिएको नगद वा सामग्री, सहयोगी स्थानीय संस्था छनोट प्रक्रिया, गैससका कर्मचारी, प्रशासनिक कार्य एवम् सवारी इन्धनलगायत सम्पूर्ण खर्चको विवरण सार्वजनिक गर्न आग्रह गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।
विपद्को मौका छोपी केही गैससले राहतका साथसाथै धर्म परिवर्तन गराउने प्रयाससमेत गरेको गुनासो आउन थालेकाले त्यस्ता कार्य बन्द गरी राहत एवम् पुनःनिर्माणमा लाग्न आग्रह गर्दै त्यस्ता क्रियाकलाप गरेको पाइएमा ती संस्थालाई बेत्रावतीबाटै प्रवेशमा रोक लगाइने प्रजिअ शिवराम गेलालले बताउनुभयो ।
दुई दर्जनभन्दा बढी गैसस यहाँ क्रियाशील छन् । जिल्लामा केही संस्थाले राहत वितरणका साथै धर्म प्रचारको कुरासमेत अगाडि बढाएको प्रमाण दिन सक्ने आधार रहेको एकीकृत नेकपा (माओवादी) का प्रतिनिधि माधवप्रसाद लामिछानेले बताउनुभयो । नेपाली काँग्रेसका जनकजीवन उपाध्याय र नेकपा (एमाले)का कन्र्याल तामाङले विगतकाकमजोरी सच्याई राहत एवम् पुनर्निर्माणमा सरकारी निकाय र राजनीतिक दलसँग समन्वय गर्दै अगाडि बढ्न सुझाव दिनुभएको थियो ।
राहत वितरण पारदर्शी गर्न आग्रह






