लण्डन । बेलायतमा नेपाली कला, संस्कृतिको संरक्षणमा खटिदै आएका बौद्धिक अभियन्ता एकेन्द्र गुरुङले बेलायतमा सिर्जना गरिएका गीतहरूको संग्रह प्रकाशन गर्ने भएका छन् ।
उनले लण्डन नेपाल न्यूजसँग कुरा गर्दै बेलायतमा कथाकारहरुको कथा र नेपाली कविहरूको कविता प्रकाशित भइसकेको अवस्थामा गीतकारहरुको गीत संग्रह प्रकाशन नभएकोले यसलाई पूरा गर्नु उचित ठानेकोले प्रकाशन गर्ने कार्यमा लागेको बताए ।
‘गीत साहित्यको एउटा सशक्त विधा हो । यसलाई संसारकै पुरानो र लोकप्रिय विधा मानिन्छ,’ उनी भन्छन्, ‘यसले मनिसको अनुभुति र बिचार सटिक ढगले अभिब्यक्त गर्न सकिन्छ । गीत सबैको मन मुटुमा बाच्न सक्छ । कसलाई हसाउछ कसैलाई रुवाउछ । गीत लयात्मक भाब अभिब्यक्तिको साधन हो । त्यसैले यसको संग्रह र संरक्षण जरूरी छ ।’
संगीतको सुमधुर लय बाद्ययन्त्रको उचित सयोजन अनि गायकको सुमधुर स्वरले गीतलाई जीवन्त बनाउने भन्दै उनले नेपालीहरुको सपनाको देश बेलायतमा नेपाली भाषा, कला, संस्कृति गीतसंगीतको पनि संरक्षण हुन आवश्यक रहेको बताए ।
हाल बेलायतमा विभिन्न साहित्यिक संघ संस्थाहरुले साहित्यिक कार्यक्रम आयोजना गरिरहेको, कला र संगीतको गतिबिधि पनि भइरहेको अवस्थामा गीतीसंग्रह प्रकाशन गर्ने निधो आफूले गरेको गुरुङले बताए ।
सबै गीतकारहरुले आफ्नो दुइटा गीत, व्यक्तिगत विवरण र एक प्रति फोटो पठाएर सहयोग गर्न उनले आग्रह गरेका छन् ।
गीत पठाउनको निम्ती उनको इमेल tamueken@hotmail.com र उनको मोबाइल नम्बर 07533181153 मा सम्पर्क गर्न उनले आह्वान गरेका छन् ।






