शनिबार र आइतबारको तुलनामा सोमबार सर्वसाधारणले राहत महसुस गरेका छन् । सोमबार अघिल्ला दुई दिनभन्दा सवारी साधन र चहलपहल बढे पनि बजार भने खुलेको छैन । भूकम्प आउने क्रम घटे पनि आमजनतामा अझै मानसिक त्रास भने घटेको छैन ।
डा.सापकोटाका अनुसार शनिबारदेखि सोमबार साँझसम्म ४ रेक्टर स्केलभन्दा माथिका ८६ वटा भूकम्प गएका थिए । ४ रेक्टर स्केलभन्दा साना सयौं भूकम्प गए पनि त्यसले कुनै क्षति नपुर्याउने भूगर्भविद् तथा मापन केन्द्रको लोकविजय अधिकारीले बताए । सोमबार १० बजेपछि ३.५ रेक्टर स्केलका मात्रै केही भूकम्प गएका थिए । ती कम क्षमताका भूकम्प हुन् । कतिपय साना भूकम्प मापन नै नगरिने जानकारी अधिकारीले दिए ।
शनिबार ११:५६ मा गएको ७.६ रेक्टरको भूकम्प १९९० सालपछिको ठूलो थियो । ९० सालमा ८.४ रेक्टर स्केलको भूकम्प गएको थियो । आइतबार १२:५४ मा गएको ६.९ रेक्टरको भूकम्प २०४५ सालको भन्दा शक्तिशाली थियो । २०४५ मा ६.८ रेक्टर स्कलेको भूकम्प गएको थियो ।
योपटक सबभन्दा बढी क्षति शनिबारको भूकम्पले निम्त्याएको हो । पूर्वी भागमा चाहिँ आइतबारको भूकम्पले क्षति बढी गराएको छ । आइतबार १२:५६ मा गएको भूकम्प सिन्धुपाल्चोक र दोलखाको केन्द्रविन्दु बनाएर गएकाले पूर्वीक्षेत्रमा असर बढी गराएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार साँझपछि ५ रेक्टर स्केलभन्दा ठूला भूकम्प गएको छैन । भूगर्भविद्ले यसलाई सुधारको संकेत मानेका छन् । सोमबार बिहानदेखि साँझसम्म ४ रेक्टरभन्दा साना ९ वटा भूकम्प गएको डा.सापकोटाले बताए । साना भूकम्पले खासै असर नगर्ने भएकाले त्रसित नहुन भूगर्भविद्को सुझाव छ । केन्द्रले भूकम्प सामान्य बन्दै गएको गृह मन्त्रालयलाई पनि जानकारी गराएको छ ।
सोमबारदेखि भूकम्प कमजोर बन्दै गइरहेका बेला अझै ठूलो भूकम्प आउन सक्ने भन्दै भ्रम फैलाइएकामा भूगर्भविद्ले खण्डन गर्दै भूकम्पको मिति, प्रकार र क्षमता आकलन गर्न नसकिने भएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।
तारन्तर भूकम्प जाने सम्भावना टरिसकेकाले सुरक्षित तरिकाले घरमा बस्नु उपयुक्त हुने भूगर्भविद्हरूको सुझाव छ । ‘केही दिनसम्म झड्का आइहाले पनि सुरुजत्तिको भूकम्प दोहोरिने सम्भावना न्यून हुन्छ’ डा.सापकोटा भन्छन् । १९९० सालको भूकम्प जाँदा ६ दिनसम्म कम्पन भएको ब्रह्मशमशेर जबराले १९९१ मा प्रकाशित आफ्नो पुस्तकमा उल्लेख गरेका छन् ।







