७० बर्ष लागे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज ७० औँ जन्मदिन । सामाजिक सञ्जालमा बिहानैदेखि उनलाई शुभकामनाको वर्षा भइरहेको छ ।

तेह्रथुमको ईवा गाविसमा २००८ साल आजकै दिन जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। बुबा मोहनप्रसाद ओली र आमा मधुको छोराका रूपमा २००८ साल फागुन ११ गते तेह्रथुमको तत्कालीन इवा गाउँ पञ्चायतमा प्रधानमन्त्री ओली जन्म भएको थियो।

ओलीको परिवार २०२२ सालमा तेह्रथुमबाट झापामा बसाइँ सरेको थियो । त्यसपछि २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिए । ओली तत्कालीन नेकपा मालेको संस्थापक मध्येका एक हुन्। उनी २०७१ साल असार ३१ गते माधवकुमार नेपाललाई ४३ मतले हराउँदै एमालेको अध्यक्ष बनेका थिए ।

त्यसपछि २०७५ साल जेठ ३ गते तत्कालिन एमाले र माओवादी पार्टीको एकीकरणपछि प्रथम अध्यक्ष बनेका ओली अहिले पार्टी फुटसँगै नेकपा ओली समूहको अध्यक्षको रुपमा कार्यभार सम्हाल्दै आएका छन् ।

उनले आफ्नो ६९औं जन्मदिन जन्मथलो तेह्रथुममा मनाएका थिए ।