बेलायतमा खुल्ने भयो लकडाउन, के गर्न पाइन्छ के गर्न पाइदैन ?

लण्डन । बेलायतमा कोरोनाभाइरस महामारीको तेस्रो लहर र नयाँ भेरियन्ट फैलिएसँगै गरिएको लकडाउन खुकुलो बनाउने तयारी गरिएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले लकडाउन हटाउनको निम्ती एक गोप्य योजना ल्याएको भन्दै आगामी मार्च ८ देखि सबै विद्यालयहरु खुलाइने बताए ।

बीबीसीका अनुसार लकडाउन खुकुलो बनाउन चार तहका योजनाहरु ल्याइएको र केही समयमै उक्त योजनाहरु बारे प्रधानमन्त्रीले मन्त्रिपरिषदमा जानकारी गराउने भएका छन् ।

२९ मार्चदेखि अधिकतम ६ जना मानिसहरु भेला हुन पाउने खोपमन्त्री नधिम जहावीले बताए । उनका अनुसार चरणबद्ध रुपमा लकडाउन खुलाउने तयारी छ ।

पहिलो चरणमा मार्च ८ देखि सबै विद्यालयहरु खुल्नेछन् । त्यसैगरी विद्यालय बाहिरका खेलकुदजन्य गतिविधिहरुलाई पनि अनुमति दिइने छ । दुई जना मानिसहरु बाहिरी पार्कहरुमा घुम्न जान पाउनेछन् । अर्थात दुई जना मानिसहरु पार्कमा भेट गरी चिया कफी पिउन सक्नेछन् ।

मार्च २९ देखि घरबाहिर भेटघाटहरु गर्न दिइने छ । अघिकतम ६ जना तथा २ परिवारहरु भेट गर्न पाउनेछन् । त्यसैगरी प्राइभेट गार्डेनहरुमा भेटघाट गर्न पनि अनुमति दिइने छ । टेनिस बास्केटबल कोर्टहरु खुल्नेछन् । युवा तथा बालबालिकाका खेलकुद क्षेत्रहरु पनि खुला हुने भएका छन् ।

८ मार्चमा विद्यालय खोलिने भनिएपनि त्यस बेला केही दिन परिक्षणको लागि केही लचकता अपनाइने भएको छ । त्यसैगरी ८ गतेदेखि केयर होममा बस्नेहरुले रेगुलर भिजिटरसँग हात मिलाउन पनि सक्नेछन् ।

२९ गतेदेखि सबै मानिसहरुलाई मापदण्ड अपनाएर आफ्नो क्षेत्र बाहिर घुम्न जान अनुमति दिने तयारी छ । तर सकेसम्म बाहिर रात बिताउन जान भने पाइने छैन । ५ हप्तामा पूर्ण रुपमा लकडाउन खुल्न सक्ने स्रोतको भनाई छ ।  प्रधानमन्त्रीले दिउँसो साढे तीन बजे यसबारे थप जानकारी गराउने कार्यक्रम रहेको छ ।

Photo-Getty Images