पैसाको लागि आफ्नै भाञ्जाको अपहरण

धनुषा । धनुषामा भान्जाको अपहरण गरी दिदीसंग फिरौती माग्ने मामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका ७ दनौली घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ७ मा बस्दै आएका २० वर्षीय रामरतन भन्ने लक्ष्मेश्वरकुमार दास रहेको प्रहरीले जनाएको छ । उनी नाताले बच्चाका आफ्नै मामा पर्छन ।

धनुषाको नगइराइन नगरपालिका ६ मा बसोबास गर्ने रमेश दासका ७ वर्षीय छोरा चन्दन दासलाई लक्ष्मेश्वरले शनिबार दिउँसो १ बजे मोटरसाइकलमा राखी लगेका थिए । प्रहरीले दिएको जानकारीअनुसार शनिबार साँझ ७ बजे बालककी आमालाई फोन गरी अपहरणकारी मामाले उनीसँग १ करोड रुपैयाँ फिरौती मागेका थिए ।

बालकको अपहरण बारे उनका अभिभावकले प्रहरीलाई जानकारी दिनासाथ तत्कालै जिल्ला प्रहरी कार्यालय धनुषा र २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटेको विशेष टोलीले लक्ष्मेश्वरकुमार दासलाई राति साढे आठ बजे पक्राउ गर्न सफल भएको थियो ।

अपहरणमा परेका बालकलाई शनिबार राति साढे आठ बजे जनकपुरधाम–७ कटैयाचौरीस्थित सरोज ठाकुरको घरबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइसकिएको र घटनामा संलग्न रहेको आशंकामा बालकका पिता रमेशसहित तीन जनालाई नियन्त्रणमा लिएको थियो । तर घटनामा लक्ष्मेश्वरको मात्रै संलग्नता देखिएको प्रहरीको भनाइ छ ।