अमेरिकामा झापाका प्रमोद भट्टराईको दुखद निधन

अमेरिकाको टेक्सास राज्यको ह्युष्टन शहरमा वसोवास गर्दै आएका २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराईको असामयिक निधन भएको छ ।

अध्ययनको शिलशिलामा पांच वर्ष अगाडि अमेरिका आएका प्रमोदको सोमवार राति सुतेकै अवस्थामा निधन भएको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । पोष्टमार्टम रिपोर्ट अझैसम्म प्राप्त भइ नसकेको कारण उनको निधन के कारणले भयो भन्ने थाहा हुन सकेको छैन ।

ह्युष्टनमा हिमपातको कारण वत्ती गएका कारण प्रमोद र उनीसंगै वस्ने साथीहरुले सोमवार राति वाहिर वार्वीक्यु पार्टी गरेका थिए र सुत्न गएका थिए । मंगलवार विहान संगै वस्ने साथीले उनलाई मृत अवस्थामा कोठामा फेला पारेका थिए ।

झापाको वुधवारे घर भएका प्रमोद कम्प्युट साइन्सको विद्यार्थी थिए र अध्ययनसंगै काम पनि गरिरहेका थिए ।

अमेरिकाका छोराको निधन भएपछि झापामा रहेको स्वर्गीय प्रमोदको परिवारलाई कसरी शवलाई नेपाल ल्याउने र अन्त्येष्टि गर्ने भन्ने चिन्ताले सताएको छ ।

प्रमोदको शव नेपाल ल्याइदिने व्यवस्था मिलाइ दिन हामी नेपाली दुतावास, एनआरएन र अमेरिकामा रहेका सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गर्न चाहन्छौ, झापावाट प्रमोदका काका रेवतवहादुर भट्टराइले इनेप्लिजसंग भन्नुभयो ।

प्रमोदको दुखद निधन भएको थाहा पाउनासाथ कसरी सहयोग पुर्याउन सकिन्छ भनेर अमेरिकामा रहेका नेपाली संस्थाहरुले छलफल गरिरहेका छन् ।

पोष्टमार्टमको रिपोर्ट प्राप्त हुनासाथ हामी स्वर्गीय प्रमोदको शवलाई कसरी नेपाल पठाउने भन्ने विषयमा तयारी सुरु गरिहाल्छौ, अमेरिकामा रहेको नेपालीहरुको सवैभन्दा पुरानो संस्था एएनएका अध्यक्ष विजयराज भट्टराईले बताए । इनेप्लिज