लण्डन । नेपाल चलचित्र कलाकार संघ (फान) यूकेले आफ्नो कार्यसमितिलाई पूर्णता दिएको छ । संघकी अध्यक्ष रोमियन लिम्बु केसीको अध्यक्षतामा जुम मार्फत गरिएको भर्चुअल कार्यसमिति बैठकले संघको सल्लाहकार समिति विस्तार गरेको हो ।
बैठकले सात सदस्यीय सल्लाहकार समिति मनोनयन गरेको छ । जसको सदस्यहरुमा याक्थुङ चुम्लुङ मङ्गेना यूके अध्यक्ष कमला सेन्दाङ लिम्बु, साहित्यकार तथा व्यावसायी शान्ती लिम्बू,गैर आवासीय नेपाली संघ युकेको इंग्ल्याण्ड राज्य समन्वय परिषद्का उपाध्यक्ष लाल बहादुर (रबिन) गुरुङ्ग,गीतकार तथा समाजसेबी कल्पना आङ्बुहाङ, एभरेस्ट क्यास क्यारीका महाप्रबन्धक आश बहादुर गुरुङ, व्यावसायी मधुकर गुरुङ र गोर्खा सर्भिस लिमिटेडकी प्रबन्ध निर्देशक सुमन पुनलाई समितिमा मनोनयन गरेको हो ।
नेपाल चलचित्र कलाकार संघ यूकेमा मनोनित सात सदस्यीय सल्लाहकार समिति तस्बिरमा हेरौ :

संस्थाकी अध्यक्ष रोमियन लिम्बु केसीले कोरोनाभाइरस महामारीले केही काम गर्न असहज भएपनि जुम मार्फत भर्चुअल रुपमा काम गरिएको बताइन् । बेलायतमा लगाइएको तेस्रो चरणको लकडाउन अन्त्य भएसँगै चलचित्रकर्मीहरु थप जाँगरिलो भएर अघि बढ्ने भएका छन् ।
संघले यस बर्ष कोरोना महामारीवीच अनलाइनबाटै प्रथम बार्षिकोत्सब मनाएको थियो । संघले कोरोनाभाइरस महामारीको कारण समस्यामा परेका चलचित्र कर्मीलाई आर्थिक सहयोग नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का मार्फत १ लाख ५ हजार ७ सय ३८ रुपैयाँ र नेपालमा चलचित्र भवन निर्माण कार्यमा ५० हजार आर्थिक सहयोग गरिएको अध्यक्ष लिम्बूले जानकारी दिइन् ।
लण्डन नेपाल न्यूजसंग बोल्दै अध्यक्ष लिम्बूले बेलायतमा लकडाउन अन्त्य भए लगतै सरकारले तोकेका मापदण्ड अनुरुप नयाँ विशेष प्रस्तुति लिएर आउने तयारी भई रहेको बताइन् ।






