नुवाकोटको महाकाली गाविस हिजो र आजको भुईचालोका कारण पुरै रित्तो भएको छ । हिजोदेखि पटक पटक आएका साना तथा ठूला भूकम्पले गर्दा गाविसका अधिकांश घर मानिस बस्न नमिल्ने गरी भत्किएको छन् ।
स्थानीय जानकी माविका शिक्षक किशोर दाहालले दिएको जानकारी अनुसार गाविसमा रहेका सरदर ९ सय घरहरु मानिस बस्न नमिल्ने गरि भत्किएका छन् । मानवीय क्षतिको विवरण नआए पनि ठूलो भौतिक क्षति भएको शिक्षक दाहालले जानकारी दिनुभयो ।
दुर्गम पहाडी इलाका भएकाले सरकारी स्तरबाट भैरहेका उद्धार तथा राहतका लागि कोही पनि नपुगेको पनि शिक्षक दाहालले बताउनुभयो । स्थानीय स्तरमा राहत जुटाउने प्रयास भए पनि त्यो पर्याप्त नभएको शिक्षक दाहालले बताउनुभयो ।
भूकम्प गएसँगै प्राधिकरणले विद्युत आपूर्ति बन्द गरेपछि उपत्यकामा पानीको हाहाकार मच्चिएको छ ।
बोरिङको पानी तानेर प्यास मेटाउँदै आएका काठमाडौं, भक्तपुर र ललितपुरवासीले शनिवार गएको शक्तिशाली भूकम्पपछि विद्युतको आपूर्ति बन्दा हुँदा पानी तान्न पाएका छैनन् । जसले गर्दा राजधानीमा हाहाकार मच्चिएको छ ।
त्यस्तै पुनः भूकम्प आउने डरले उपत्यकाको खुल्ला स्थानमा बसिरहेका सर्वसाधारण समेत पिउने पानीको अभावमा छटपटाइरहेका छन् ।
राज्यको सम्पूर्ण शक्तिसहित उद्धारमा लाग्ने भनेको सरकारले खुल्ला ठाउँमा पाल टाँगेर बसेकाहरुलाई उचित खानेपानीको व्यवस्था गर्न सकेको छैन । पसलहरु नखुलेको हुनाले किनेर खाने पानी पनि नहुँदा भूकम्प पीडितको अवस्था झन–झन दयनिय बन्दै छ ।
पटक–पटक भूकम्पको धक्का महसुस हुन थालेपछि ट्यांकरहरु पनि चलेका छैनन्, जसले समस्या झनै जटिल बन्दै छ ।








