लन्डन । जनता समाजवादी पार्टी (जसपा) निकट बेलायतस्थित सगंठन ‘नेपाली समाज युके’को अध्यक्षमा कमल थुलुङ राई सर्वसम्मत चयन भएका छन् ।
आइतबार अल्डरसटमा सम्पन्न संस्थाको पहिलो अधिवेशनले यसअगाडी सहअध्यक्ष रहेका राईको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
नवगठित कार्यसमितिको उपाध्यक्षमा बल्लभ गुरुङ, हुमकुमारी गुरुङ, सुमित्रा राई, युमा लिम्बू र विजय लुम्फुङ्वा रहेका छन् । सचिवमा मिलनचन्द्र राई, सहसचिवमा लीला सेलिङ माबो, कुमार घले र तेज माबो लिम्बू निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा विनोदकुमार राई एवम् सहकोषाध्यक्षमा धनकाजी गुरुङ र दिलसिंह मेन्याङबो लिम्बू लगायत अन्य सदस्य रहेका छन् । २२ सदस्यमध्ये अधिवेशनबाट ९ जना सदस्य चयन गरिएको र बाँकी सदस्यहरु भने आगामी बैठकबाट मनोनयन गर्ने बताईएको छ ।
संस्थाका निवर्तमान अध्यक्ष लेफ्टिनेन्ट चन्द्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनलाई जसपा संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रवासमा पार्टीको सगंठन गठन गरेकोमा आभार व्यक्त गर्दै आगामी वैशाख ३१ गते नेपालमा हुने स्थानीय चुनावमा सहयोग गर्न र तैयारीमा लाग्न आग्रह गरे ।
अधिवेशनमा बेलायतका लागि नेपाली कार्यवाहक राजदूत रोशन खनाल, जसपा प्रवास इन्चार्ज आङकाजी शेर्पा लगायतले शुभकामना दिएका थिए ।
अधिवेशनमा जसपा केन्द्रीय सदस्य भगवान चाम्लिङ, संगठनका पूर्व अध्यक्षहरु धर्म तमाङ र कमल गुरुङ, लन्डन हन्स्लोका मेयर विष्णुबहादुर गुरुङ, तमुधिँ यूके अध्यक्ष हित काजी गुरुङ, नेपाली जनसम्पर्क समिति यूकेकी सभापति कोपिला लिम्बू, एनआरएनए यूकेकी पूर्व अध्यक्ष पुनम गुरुङ लगायत सहभागी भएका थिए ।






