लण्डन । बेलायतमा कारको ठक्करबाट घाइते भएर ११ महिनादेखि कोमामा रहेका एक युवाले भर्खरै कोमाबाट बाहिर निस्किएका छन् ।
जोसेफ फ्लाविल नाम गरेका ती युवा ११ महिनामा कोमाबाट ब्यूँझेपछि संसारलाई आक्रान्त बनाएको कोभिड १९ महामारीबारे केही पनि जानकारी छैन ।
जो नामले चिनिने उनलाई कारले ठक्कर दिने समयमा कोरोना महामारी शुरु हुँदै थियो । केही देशमा लकडाउन घोषणा गरिएको थियो । त्यसपछि महामारीले निकै ठूलो रुप लिइसकेको छ । संसारमा लाखौ मानिसले ज्यान गुमाएका छन् । यूके पनि यूरोपको सबैभन्दा बढी प्रताडित देश बनेको छ ।
बेलायती पत्रिका द मेट्रोका अनुसार १९ बर्षका ती युवा लेसेस्टर जनरल अस्पतालमा ११ महिनादेखि कोमामा थिए । हाल उनले आँखा उघारेका छन्, र हातखुट्टा पनि चलाउन थालेका छन् ।
उनका परिवार यतिबेला अत्यन्तै खुशी छन्, तर कोरोना महामारी, लकडाउन, सामाजिक दूरीको बारेमा कसरी बताउने भन्ने कुराको धर्मसंकट परेको छ ।
उनकी काकी स्यालीले भनिन्,’ शुरुमा उनले आँखा खोलिसकेपछि केही पनि रेस्पोन्स गरेका थिएनन्, तर अहिले उनको प्रोगेस भइरहेको छ ।’
कारले ठक्कर दिनुभन्दा अघि उन ए लेवल अध्ययन गरिरहेका थिए । हाल महामारीको कारण उनलाई भेट्नको निम्ती उनकी आमालाई मात्र अनुमति दिइएको छ । तर जोलाई पनि दोस्रोपटक कोरोनाभाइरस पोजेटिभ देखिएको छ ।






