काठमाडौँ । काठमाडौँमा छोरालाई पिठ्यूँमा बोकेर ठेला चलाउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भएका अर्जुन विक बलात्कार आरोपमा पक्राउ परेका छन् ।
कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीका २४ वर्षीय छित्ता भन्ने अर्जुन विक पक्राउ परेका हुन् । उनलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले गत माघ ८ गते काठमाडौंको तीनकुनेबाट पक्राउ गरेको हो।
उनिमाथि अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणी गरेको आरोप छ । उनले भजनी नगरपालिका वडा नं ४ बाट १३ वर्षकी किशोरीलाई अपहरण गरी गत साउन १५ गते काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित डेरामा ल्याएको प्रहरीको भनाई छ । त्यसपछि उनी फरार थिए ।
त्यसपछि पीडित युवतीले गत साउन ३० गते बन्धक कोठामा डर, धाकधम्की दिई जबरजस्ती करणी समेत गरेको उजुरी दिएकी थिइन्।
उजुरीपश्चात अपहरण शरीर बन्धक तथा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी विकको निरन्तर खोजी गरिएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।
पक्राउ परेका अर्जुन विक केही महिनाअघि श्रीमतीले धोका दिएर छोडेकी भन्दै छोरालाई पिँठ्यूमा बोकेर ठेला चलाउँदै गर्दा सामाजिक सञ्जालमा अन्तर्वार्ता दिएपछि भाइरल भएका थिए।
भाइरल भएपछि उनले थुप्रै अनलाइन मिडियामा अन्तरवार्ता समेत दिएका थिए । त्यसपछि उनले अभिनय गरेका गीत पनि बजारमा आएको छ ।






