तक्दीर अधिकारी
सिड्नी । हिउँ खेल्न जाने क्रममा नेपाली विद्यार्थी चढेको कार दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको नेपाली दूतावास अस्ट्रेलियाले पुष्टि गरेको छ । मृत्यु हुनेहरुमा समीक्षा सुवेदी र गोपाल भण्डारी रहेका छन् । सोमबार अबेर नेपाली दूतावास अस्ट्रेलियाले विज्ञप्ति जारी गरेर दुर्घटनामा उनीहरुको निधन भएको पुष्टि गरेको हो । उनीहरु दुवैको नेपाल घर स्याङ्जामा पर्छ ।
अस्ट्रेलियाका अधिकारीहरुले मृतकका परिवारसँग सम्पर्क गरेको र डेथ बडी यथाशक्य छिटो नेपाल पठाउने तयारी भइरहेको दूतावासले जनाएको छ । धैर्यधारणा गर्ने शक्ति भगवानबाट प्राप्त होस् भन्दै शोक सन्तप्त परिवारजनमा दूतावासले समवेदना व्यक्त गरेको छ । मृतकको आत्माले शान्ति पाओस् भन्ने कामना दूतावाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटना हुनुअघि कारमा पाँच जना थिए, तीनजना घाइतेमध्ये गम्भीर चोट लागेका अविश्वन कँडेल कोमा अस्पतालबाट डिस्चार्ज भएर सिड्नी फर्केका छन् । सागर भट्टराई र संगीत देवकोटाको क्यानभेरामा उपचार भइरहेको छ । दूतावासका अनुसार उनीहरुको तीब्र रुपमा स्वास्थ्यमा सुधार आइरहेको छ ।
एनएसडब्लु राज्यमा रहेको स्नोइ माउन्टेनमा १५ जनाको समूह हिउँ खेल्न गएका थिए । पाँच जना चढेको कार कोमाको मोनारो हाइवेमा दुर्घटना भएको थियो । उनीहरु सिडनीबाट शनिबार साँझ हिउँ खेल्न हिडेका थिए । कार आइतबार बिहानको ३ बजेतिर दुर्घटनामा परेको थियो । कार एउटा रुखमा ठोक्किएपछि ६० मिटरजति तल खसेको थियो । रुखमा ठोक्किने वित्तिकै समीक्षाको शरीर उछिटिएको र ड्राभर सिटमा बसेका गोपाल गाडीबाट बाहिर निस्कन सकेनन् ।
अस्ट्रेलियामा नेपाली समुदायको बढ्दो जनघनत्वसँगै दुघटनामा ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । मुख्यगरी सिकारुले गाडी कुदाउने, तोकिएको भन्दा बढी स्पिडमा गाडी चलाउने र ट्राफिक नियम पालना नगर्नाले नेपाली विभिन्न समयमा दुर्घटनाको शिकार बन्न गरेका छन् । टोलैपिछे खुलेका जातीय र क्षेत्रीय नेपाली समाजले यसतर्फ पनि सचेतनाको कार्यक्रम सञ्चालन गर्नेे कि ?






