लण्डन । गैरआवासीय नेपाली संघ एनआरएनएको विशेष केन्द्रिय महाधिवेशनले प्रस्तावित विधान संशोधन गरेको छ । शनिवारदेखि शुरु भएको महाधिवेशनको अवसरमा विस्तृत छलफल गरी विधान संशोधन सर्वसम्मतीले पारित गरिएको हो ।
महाधिवेशनको परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञावलीले उद्घाटन गरेका थिए । उद्घाटन समारोह सकिए लगत्तै उपाध्यक्ष मन केसी तथा पूर्वप्रवक्ता भूषण घिमिरेले साझा सहमतिको आधारमा प्रस्तुत गरेको संशोधन प्रस्ताव माथि राष्ट्रिय समन्वय परिषद एनसीसीका अध्यक्ष तथा महासचिवहरुले आफ्नो सुझाव प्रस्तुत गरेका थिए।
एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले एनसीसीहरु एनआरएनएका स्तम्भ भएकोले तिनलाई बलियो बनाउनु पर्ने बताए । एनआरएनए अमेरिकाका अध्यक्ष सुनील साहले एनआरएनए फाउन्ड़ेशन गठन गर्दा एनसीसीहरुसंग पनि सल्लाह गर्नु पर्ने भन्दै एनआरएनएका सबै गतिविधि पारदर्शी हुनु पर्नेमा जोड दिए।
एनआरएन दक्षिण कोरियाका अध्यक्ष यज्ञराज सुवेदीले ७ महिनासम्म विधान संशोधन बारे छलफल चलाएर पछि अलपत्र छाडिएको भन्दै आक्रोश व्यक्त गरेका थिए। एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले संशोधित विधानको स्वागत गर्दै निशुल्क सदस्यता तथा स्मार्ट एनआरएनएमा जानु पर्ने माग गरिन् । उनले भूतपूर्व गोर्खा लगायत सबै एनआरएनहरुको वंसजको आधारमा नागरिकता निरन्तरता हुनु पर्नेमा जोड दिइन् ।
एनआरएन रुसका अध्यक्ष शिवमणि भुर्तेलले संशोधित विधान तत्काल लागू हुनु पर्ने बताए। केहि एनसीसीका अध्यक्षहरुले राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन जुलाई महिना भित्र गरि सक्नु पर्ने नियम व्यवहारिक नहुने बताएका थिए। छलफलमा उठेका बुंदाहरुबारे उपाध्यक्ष केसी तथा विधान संशोधन सुझाव समितिका भूषण घिमिरेले जवाफ दिएका थिए।
महासचिव डा हेम राज शर्माले संचालन गरेको कार्यक्रममा अध्यक्ष कुमार पन्तले सहमतिको आधारमा विधान संशोधन प्रस्ताव तयार गरिएको र यसमा नसमेटिएका बुंदाहरु आगामी अधिवेशनमा छलफल गरिने बताए। उनले विधान अपरिवर्तनीय होइन, तर पटक पटक परिवर्तन गर्दै जाँदा राम्रो सन्देश नजाने पनि बताए।
अध्यक्ष पन्तले उक्त संशोधित विधान पारित गर्न प्रस्ताव गरे पछि सभाले सर्वसम्मतिले उक्त प्रस्ताव पारित गरेको थियो।
संशोधित विधानले एनआरएनएका राष्ट्रिय समन्वय परिषद्को महाधिवेशन जुलाई महिना भित्र गरि सक्नु पर्ने व्यवस्था गरेको छ । त्यसैगरी केन्द्रीय प्रतिनिधीको नामावली १५ अगष्टसम्म सार्वजनिक गर्नुपर्ने, एक थप युवा सहित जम्मा ६ जना उपाध्यक्ष रहने, दुई सहकोषाध्यक्ष मध्ये एक महिला अनिवार्य बनाउने व्यवस्था गरेको छ ।
त्यसैगरी क्षेत्रीय युवा उपसंयोजक थप्ने, निर्वाचन समिति संख्या आवश्यकता अनुसार राख्ने, ५ सदस्यीय निर्वाचन अनुगमन समिति बन्ने, क्षेत्रीय महिला उपसंयोजक थप्ने, अनलाइन माध्यमबाट नेपालमैमा निर्वाचन गर्न सकिने, पेशागत तथा शैक्षिक समन्वय इकाई गठन गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी कार्यसमितिमा एक महिला सहित २ जना सचिव थपिएको छ भने केन्द्रीय सल्लाहकार ११ जनाबाट बढाएर २१ जना पुयाइएको छ ।
विधान सभा खारेज गरिएकोे छ भने आइसीसी सदस्य संख्या घटाइएको छ । एनआरएनएको सदस्यता शुल्क आइसीसीले नै निर्धारण गर्ने भएको छ । त्यसैगरी विशेष महाधिवेशनले अध्यक्षले विश्वभरबाट १५ प्रतिनिधि थप्न सक्ने अधिकार पनि दिएको छ ।
शनिवार र आइतवार गरी दुइ दिन सम्म आयोजना गरिएको उक्त महाधिवेशनमा आइतबार आर्थिक प्रतिवेदनबारे छलफल हुने जनाइएको छ ।






