काठमाडौं । नेपाली काँग्रेस नेता तथा पुर्वमन्त्री नविन्द्रराज जोशीका परिवारले अनुमानका भरमा समाचार नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।
बुधबार नविन्द्रराज जोशीको फेसबुकमा स्टाटस लेख्दै परिवारले मृत्युजस्तो संवेदनशील विषयमा अनुमानका भरमा समाचार सम्प्रेषण नगर्न आग्रह गरेको हो ।
गएराति देखि नै जोशीको मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा सर्वसाधारणदेखि काँग्रेस केन्द्रीय सदस्यहरु समेतले श्रदाञ्जली दिएका थिए ।
परिवारले भ्रमपूर्ण समाचारहरुमा कुनै सत्यता नभएकोसमेत स्पष्ट पारेको छ । मृत्यु भएको हल्ला फैलिएपछि बुधबार अस्पताल र परिवारले प्रेस विज्ञप्ति जारी गर्दै जोशीको उपचार भैरहेको जानकारी दिनु परेको थियो ।
नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर जोशीको उपचार भइरहेको छ । अस्पताल र पारिवारिक स्रोतले जोशीको स्वास्थ्य स्थिर रहेको बताएको छ ।
जोशीलाई मस्तिष्कघात भएपछि फागुन १४ गते अस्पताल भर्ना गरिएको थियो ।
क्षमायाचना – कांग्रेस नेता नवीन्द्रराज जोशीबारे यसअघि असावधानिवस प्रकाशित समाचार हटाइएको र यसबाट तपाईँहरुसामू पुगेको असुविधाप्रति क्षमायाचना गर्दै आगामी दिनमा यसप्रकारका गल्तीहरु नदोहोर्याउने प्रतिवद्धता व्यक्त गर्दछौँ । – सम्पादक






