लण्डन । संयुक्त राज्य अमेरिकाकी नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिसले बिहीबार बिहान नयाँ राष्ट्रपति निर्वाचन भए पछि आयोजित भर्चुअल प्रार्थना सेवामा चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बनाएको पोशाक लगाएर भाग लिएकी छन्।
कोरोना संक्रमणका कारण प्रार्थनासभा भर्चुअल रुपमा आयोजना गरिएको थियो। गुरुङले आफ्ना श्रीमानसंग प्रार्थना सभामा सहभागी ह्यारिसको तस्वीर सहित एक ट्विट गरेका छन्।
एसियाली-अफ्रिकी मूलकी ह्यारिस अमेरिकाको उपराष्ट्रपति चुनिने पहिलो महिला हुन्। “हामीले डिजाइन गरेको पोशाक लगाएर उपराष्ट्रपति प्रार्थना सभामा सहभागी हुनु भयो। कृतज्ञता, हार्दिक कृतज्ञता,” गुरुङले आफ्नो ट्विटमा भनेका छन्।
प्रबल गुरुङ को हुन्?
अमेरिकाको न्यूयोर्कमा बस्दै आएका प्रबल गुरुङ नेपालमा हुर्किएर विश्वमै प्रसिद्धी कमाउने सीमित ‘फेशन डिजाइनर’ मा पर्छन्। सिंगापुरमा जन्मिएर काठमाडौंमा हुर्केका प्रबल हलिउडदेखि बलिउडसम्मका सेलिब्रेटीले रुचाएका चर्चित डिजाइनर हुन्।
पूर्वअमेरिकी प्रथम महिला मिसेल ओबामादेखि बेलायती राजकुमारी केटसम्मले उनले डिजाइन गरेको लुगा रुचाएका छन्। बलिउडका अन्तर्राष्ट्रिय रुपमा चर्चित कैयौँ महिलाहरु सजिएका छन् प्रबलले डिजाइन गरेका पोशाकमा ।
सामाजिक सञ्जाल ट्वीटर, इन्स्टाग्राम र फेसबुकमा उनका लाखौँ प्रशसंक छन्। आफ्नै नामको फेशन ब्राण्ड स्थापना गरेका उनका भारतको मुम्बईसहित अमेरिका र युरोपमा १०० वटा फेशन स्टोर छन्।
गुरुङले आफ्नो जीवनीमा आधारित ‘कफी टेबल बुक’ पनि लेखेका छन। ‘प्रबल गुरुङ’ शिर्षकमा सार्वजनिक हुने उनको किताबमा एक आप्रवासी युवाको संघर्ष र आफ्नो अमेरिकी सपना पूरा भएको कथा समेटिएको छ ।






