गौशाला, मंसिर ४ । महोत्तरीको भिट्ठामोडमा सीमापारिबाट ल्याइँदै गरेको एक दर्जन ग्यास भरिएका सिलिन्डर आज(शुक्रबार) भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएका छन् ।
जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोड हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएको एक दर्जन ग्यास सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन् ।
बिहीबारसम्म बिनारोकटोक ल्याउन दिएको ग्यास सिलिन्डर आज एक्कासि एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौं व्यक्ति खाली सिलिन्डर लिएर फर्केका छन् ।
नेपाली सिलिन्डरमा भारतीय ग्यास पल्टी गरेर चर्को मूल्यमै भएपनि बिहीबारसम्म नेपाली ग्राहकले पाउने गरेकामा आज बिहानदेखि एसएसबीले भारतबाट ग्यास लैजान नमिल्ने भन्दै ग्यास भरिएका सिलिन्डरहरु नियन्त्रणमा लिन थालेका छन् ।
महोत्तरीको सीमापारिका भारतीय सहरहरु सुरसण्ड, भिट्ठामोड, मधवापुरमा बिहीबारसम्म नेपाली ग्राहकले नेपाली सिलिन्डर लगी भारतीय ग्यास भरेर ल्याउने गरेका थिए । उनीहरुले नेपालीसँग एउटा सिलिन्डर रिफिल गरेबापत दुई हजार ८०० देखि तीन हजार नेपालीसम्म लिने गरेका थिए ।
आज बिहानदेखि सीमानाकामा एसएसबीले ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेपछि नेपालबाट ग्यास ल्याउन भारतीय बजारमा पुगेका ग्राहकहरु विचल्लीमा परेका छन् । रासस
नेपाल ल्याइदैं गरेको ग्यास सिलिन्डर भारतीय सुरक्षाकर्मीद्वारा नियन्त्रणमा






