बेलायतबाट शुरु भएको कोरोनाको नयाँ प्रकार नेपालमा पनि भित्रिएको पुष्टि

काठमाडौँ । बेलायतबाट शुरु भएको कोरोनाभाइरसको नयाँ प्रजाति नेपालमा पनि भित्रिएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरेर नयाँ प्रजातिको कोरोना नेपालमा भेटिएको पुष्टि गरेको हो । बेलायतबाट पुस पहिलो साता नेपाल आएका ६ जना मध्ये तीनजनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

२७ पुसमा उनीहरुको नमुना परिक्षण गर्न हङकङ प्रयोगशालामा पठाइएको थियो । जसमध्ये २८ वर्षीया महिला, ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रकारको भाइरस देखिएको हो । जसमध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुष नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजेटिभ रहेको मन्त्रालयले जनाएको छ ।

बेलायतबाट देखिएको उक्त नयाँ प्रजाति हाल विश्वका अधिकाशं देशमा देखिदै जाँदा चिन्ता बढेको छ । यस प्रजाति पहिलेको भन्दा ७० प्रतिशत बढी संक्रामक भएको विशेषज्ञहरुले बताएका छन् ।