लण्डनमा गुल्मी घर भएका भूतपूर्व गोर्खा सैनिकको निधन

लण्डन । बेलायतमा कोरोना संक्रमण भइ तीन महिनासम्म अस्पताल बसेका एक भूतपूर्व गोर्खा सैनिकको निधन भएको छ ।

नेपालको गुल्मीको कालिगण्डकी गाउँपालिका वडा नं ४ पुर्तिघाट घर भई हाल लण्डनको ग्रीनफोर्डमा बस्दै आएका ५९ वर्षीय लालप्रसाद सलामीको ५९ बर्षको उमेरमा सोमबार निधन भएको हो ।

रोयल ब्रमटन अस्पताल लण्डनमा ११ जनवरीमा निधन भएको प्रथम नौमती बाजा गुल्मी युके समूहका प्रमुखसयोजक ओम थापा काउचाले जानकारी दिए ।

उनलाई गत अक्टोबर महिनामा संक्रमण पुष्टि भएको थियो । त्यसयता उनी अस्पतालमै थिए । उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ ।

उनका श्रीमती र दुई छोरा उनीसंगै लण्डनमा बस्दै आइरहेका छन् भने बाबुआमा नेपालमै छन् ।

गुल्मी जिल्ला समाज यूके, मगर संघ यूके वेम्बली मिडलसेक्स लगायतका विभिन्न संघसंस्थाहरुमा आवद्ध रही समाजसेवामा रहेका सलामीको निधनप्रति यहाँस्थित नेपाली संघसंस्थाहरुले दुःख व्यक्त गरेका छन् ।

गुल्मी जिल्ला समाज यूकेले पनि एक विज्ञप्ती मार्फत शोक प्रकट गरेको छ । संस्थाका अध्यक्ष टोप पल्ली, संस्थापक तथा  प्रथम नौमती बाजा समूह यूकेका अध्यक्ष ओम थापा काउचाले एक विज्ञप्ती जारी गर्दै सलामीको निधनले संस्था परिवार निकै मर्माहत भएको बताएका छन् ।

‘अती मिलनसार र ईमानदार समाज सेवी ब्यक्ती स्वर्गिय श्री लाल प्रसाद सलामी मगर ज्युको ५९ बर्षको उमेरमा रोयल ब्रमटन अस्पतालमा उपचारको कर्ममा ११ जनवरीको दिन आकस्मिक निधन भएको खबरले हामी सबैलाई आत्यन्तै मर्माहित तुल्याएको छ । यस दुखद घडिमा शोकाकूल परिवारलाई धैर्य धारण गर्ने प्रबल शक्तिको कामना, साथै मृतात्मालाई चीर शान्तिको प्रार्थना अनि भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै सम्पूर्ण प्रथम नौमती बाजा गुल्मी युके समुहका सदस्यहरुको तर्फबाट हार्दिक समबेदना प्रकट गर्दछौँ’ उनीहरुले भनेका छन् ।