जनसम्पर्क समिति यूकेले मनायो राष्ट्रिय मेलमिलाप दिवस

लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) ले राष्ट्रिय मेलमिलाप दिवस मनाएको छ । एनपीसीसीले हरेक बर्ष मनाउँदै आएको मेलमिलाप दिवस यस बर्ष भने अलिक फरक तरिकाले मनाइएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको कारण यसपटक अनलाईन जुम मार्फत भर्चुअल रुपमा दिवस मनाएको हो ।

जनवरी २ का दिन भएको कार्यक्रममा समितिका कार्यवाहक सभापति महेश कुमार दाहालको अध्यक्षता रहेको थियो भने महामन्त्री सूर्य तामाङले सञ्चालन र सहमहामन्त्री ईन्द्रहांग लिङदेनले संयोजन गरेका थिए ।
कार्यक्रममा अधिकांश वक्ताहरुले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अवलम्वन गरेको राष्ट्रिय मेलमिलापको नीति र वर्तमानमा त्यसको सान्दर्भिकताको बारेमा चर्चा गर्दै वर्तमान सरकारले चालेका कदमहरुको विरुद्ध काँग्रेस खरोप रुपमा उत्रनुपर्ने बताएका थिए ।

एनपीसीसीका सल्लाहकार चिरञ्जीवी ढकालले बीपी कोइराला आफैंमा एक सिद्धान्त भएको भन्दै उनले देखाएको राष्ट्रिय मेलमिलापको नीति हरेक मानवले अवलम्बन गर्नुपर्ने बताए ।
सल्लाहकार नर कुमारी लिम्बूले कम्युनिस्टलाई खाने बाघले कांग्रेसीहरुलाई पनि खानु सक्ने भन्दै राष्ट्रिय मेलमिलापको नीतिको अवलम्वन आजको सन्दर्भमा पनि अपरिहार्य भएको र विशेषगरी आजका युवाहरुले एकार्कालाई सम्मान गर्ने बानीको विकास गर्नु पर्ने सुझाव दिइन्। अर्का सल्लाहकार शिवजी श्रेष्ठले एनपीसीसी यूके कुनै एउटा च्यारिटेबल संस्था नभएर सिद्धान्त र विचार लिएको संस्था भएको हुनाले यो संस्था कुनै साना तिना कुराहरुमा अल्झेर श्रोत र शक्तिको खर्च गर्न नहुने सुझाव पेश गरे ।

सल्लाहकार शेर बहादुर सुनारले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई बाँदरको हातमा परेको नरिवल जस्तो बनाएको बताए । समितिका पूर्व सभापति विनोद राज मोक्तानले प्रतिनिधि सभा विघटनपछि नेपाली कांग्रेस पार्टीले अवलम्वन गर्नु पर्ने नीति तय गरिसकेको र सबै कांग्रेसीहरुले त्यसप्रति एकाकार हुनपर्ने विचार राखे ।

पूर्व उपसभापति कुमारी गुरुङ, पूर्व महामन्त्री बिजन भट्ट, अर्का महामन्त्री आर. के. त्रिपाठी, पूर्व कोषाध्यक्ष कृष्ण गुरुङ, महामन्त्री केशव भण्डारी, महामन्त्री प्रवेश केसी, उपसभापति कोपिला सुब्बा, प्रवक्ता खुशी लिम्बू, सहमहामन्त्री उपेन पौडेल, नेपाल प्रेस युनियन यूकेका अध्यक्ष बिपिन निरौला, लोकतन्त्रप्रेमीहरु रञ्जन मल्ल, हरिभक्त न्यौपाने र शशांक शर्मा लगायतले बोल्दै बर्तमान सरकारले संविधानविरोधी कदम चालेको भन्दै त्यसको प्रतिवादमा नेपाली काँग्रेस डटेर लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रमका अध्यक्ष समेत रहेका संस्थाका कार्यवाहक सभापति महेश कुमार दाहालले ४५औं राष्ट्रिय मेलमिलाप दिवस सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै जनसम्पर्क समितिले आगामी दिनमा लोकतन्त्र सुदृढ गर्ने अभियानमा अझै कटिबद्ध हुने बताएका थिए ।