सिड्नीमा दोस्रो वरिवर तेक्वान्दो च्याम्पियनसिप सम्पन्न, ४० खेलाडीले पाए मेडलसहित सम्मान

तक्दीर अधिकारी
सिड्नी । सिड्नीमा दोस्रो वरिवर तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । आइतवार वरिवर तेक्वान्दो र युनाइटेड तेक्वान्दो फेड्रेसन (युटीएफ) द्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा ७० जना सहभागि मध्ये ४० जनाले मेडल पाएका छन् ।

वरिवर तेक्वान्दोका निर्देशक प्रकाश क्षेत्रीका अनुसार अस्ट्रेलियामा रहेका नेपाली समुदायलाई खेलकुदप्रति आकर्षित गर्नका लागि प्रतियोगिता आयोजना गरिएको हो । यस अघि मार्च २८ को मिति तोकिएको भएपनि कोरोनाभाइरस महामारीको कारण २७ गते आइतवार सम्पन्न गरिएको हो । कम्युनिटी अवार्ड सहित ४० जनाले प्रतियोगिताबाट ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने दुई जना बच्चाहरुलाई फिटेस्ट पदक दिइएको छ। “मानिसहरु प्रवासमा बसेर खेलकुदमा अब्बल हुने चाहना राखेका हुन्छन,त्यसैले सिड्नीमा बसोबास गर्ने नेपाली समुदायलाई पनि तेक्वान्दो खेलप्रति आकर्षित गर्न सकिन्छ कि भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो, सिड्नी मात्र नभएर न्यू साउथ वेल्स बाहिरका खेलाडीहरु पनि सहभागि भए ।”लण्डन नेपाल न्यूज संग उनले भने ।

हरेक बर्ष उक्त प्रतियोगीता आयोजना गर्दै आइएको छ । कोभिड १९ को नियन्त्रण गर्न सरकारले तोकेका पर्याप्त सुरक्षा मापदण्ड प्रयोग गरी पेन्चसको वल्ड्स पार्कमा गरिएको कार्यक्रममा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा न्यू साउथ वेल्स संयोजक देव गुरुङ, वरिवर तेक्वान्दो बोर्ड सदस्य विलाल इलमोई, एनआरएनए अष्ट्रेलिया स्पोर्ट संयोजक भिम बस्नेत, एनएफडिफको उपाध्यक्ष हरि अधिकारी, तनहुँ समाज अष्ट्रेलिया का सदस्य सन्देश राज भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै उक्त कार्यक्रमलाई सफायर, विस रियलस्टेट तथा ह्यान्डी नेपालले सहयोग गरेका थिए । आइतवारको प्रतियोगीतामा सहभागि भएका खेलाडीहरु अधिकाशं क्षेत्री आफैले तालिम दिएका थिए । तेक्वान्दो प्रतियोगीतामा नेपालीहरुको आकर्षाण बढाउन क्षेत्री लामो समयदेखि प्रयासरत छन् ।