मन्जु भण्डारी
लण्डन । पशुपतिनाथ मन्दिर योग केन्द्रले योग अभ्यास सञ्चालन गराउने भएको छ। योग फर डेटोक्स एन्ड इम्युनिटी भन्ने मूलमन्त्र सहित विगत ६ हप्ता देखि विभिन्न अनुभवी योग प्रशिक्षक द्वारा जुम मार्फत योग अभ्यास गराउँदै आइएको छ।
अनुभवी योग प्रशिक्षक तथा विभिन्न योग सम्बन्धी पुस्तक प्रकाशन गराएका रामबहादुर गौतम द्वारा योग, योगेश्वर योग तथा आध्यात्मिक चिन्तनका विशेषज्ञ रामानन्द चार्य प्रतिष्ठानका उपाध्यक्ष गोबिन्दबाबु तिवारीले छोटो समय मा अभ्यास गर्न सकिने सुक्ष्क्ष्म योग अभ्यास गराइरहेका छन् ।
कोरोनाभाइरस महामारीको कारण प्रत्यक्ष रुपमा कार्यक्रम नगरिएपनि अनलाइनबाटै योग प्रशिक्षण गराइने भएकोे हो ।
आउँदो शनिबार विहान ८ः१५ बजे सुप्रसिद्ध योग गुरु राम देवबाट दीक्षित तथा उनका १० उत्कृष्ट शिष्यहरु मध्येका, योग सम्बन्धी विभिन्न वैज्ञानिक अनुसन्धानमा संलग्न तथा नेपालको राष्ट्रिय बक्सिङ चम्पियन योग गुरु पुष्कर राज पन्तद्वारा योग अभ्यास गराइने भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कँडेलले योगद्वारा आरोग्य, स्वास्थ्य, समृद्धि तथा मानसिक स्वास्थ्यको लाभ लिन सम्पूर्ण भक्तजन तथा सम्पूर्ण लण्डन बासिन दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् ।
यसको अतिरिक्त पशुपतिनाथ मन्दिर प्लम्स्टेड यूकेले हरेक महिनाको आईतबार दुई पटक आध्यात्मिक प्रवचन र अर्काे दुईपटक भजनकीर्तन कार्यक्रम सञ्चालन गर्दै आएको गायक तथा समाजसेवी दिपक थापाले बताए । पशुपतिनाथ मन्दिरको विस्तार तथा शिवलिङ्ग स्थापना गर्नको लागि आर्थिक संकलनको कार्य भइरहेको थापाको भनाई छ । बेलायतमा स्थापित कलाकार थापाले यस कार्यक्रमलाई अझै व्यवस्थित बनाउने प्रयास भइरहेको बताए ।
सचिव कल्पना त्रिपाठीले मस्तिष्क र स्वास्थ्य तन्दुरुस्त राख्न योग निकै महत्वपूर्ण हुने भन्दै सबैले योग गर्नुपर्ने बताइन् ।
माथि उल्लेख गरिएका सम्पूर्ण कार्यक्रमहरु घरमै बसे घरमै बसि जुम तथा फेसबुक लाइभ मार्फन हेर्न सकिनेछ । विविध आसन, अभ्यास, साधना, ध्यान आदिका माध्यमबाट मन र शरीरलाई जोड्ने प्रक्रियालाई योग मानिन्छ । स्वस्थ शरीर, स्वस्थ मनको निम्ति योग गर्ने गरिन्छ ।






