“बीबीसी”मास्टर सेफको उपविजेता बने पहिलो नेपाली सन्तोष

लन्डन  ।बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको उपविजेता बनेका छन् ।

‘बीबीसी वन’ मा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनी ‘रनर अप’ बनेका हुन् ।

युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ को उपाधि जितेका छन्।

“म आज अत्यन्तै खुसी छु। आफै विजेता भएको जस्तो महसुस गरिरहेको छु ” सन्तोषले भने।

उनले नेपाली ढाका टोपी लगाएर खाना पकाएका थिए।

१५ वर्षको उमेरमा भारतको गुजरातमा काम गर्न गएका सन्तोषले त्यहाँ विभिन्न होटेलहरुमा १० वर्ष काम गरेका थिए।  त्यस पछि सन् २०१० को अन्त्यमा बेलायत आएका उनी अहिले सिनामोन ग्रुपमा हेड सेफको रुपमा काम गर्दै छन्।

प्रतियोगिता ३२ जना सेफहरुबीच शुरु भएको थियो ।

अन्तिम राउण्डको प्रतिस्पर्धामा सन्तोषले राँगाको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा पस्किएका थिए । खानासंगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित ड्रिंक्स  ’ऐला’ पनि सर्भ गरेका थिए ।

यस अघि सन्तोषले सिस्नुको तरकारी, बेथेको साग, योमरी, गुन्द्रुक, मकैको रोटी, भांगको अचार लगायतका थुप्रै मौलिक नेपाली परिकार सो प्रतिस्पर्धामा प्रदर्शन गरेका थिए।

बधाई

मास्टर सेफ प्रोफेसनल्स फ़ाइनल्समा पुगेका सन्तोषलाई नेपालका धनाढ्य बिनोद चौधरीदेखि अमेरिकालाई कार्य थलो बनाएका चर्चित फेशन डिजाइनर प्रबल गुरुङले बधाई दिएका छन् । बीबीसी न्युज, बीबीसी नेपाली सेवा लगायत नेपालका सबै जसो प्रमुख मिडियाले उनको अन्तर वार्ता छापे। नेपालमा  कपीराइट सम्बन्धी प्रतिबन्धले गर्दा मास्टर सेफ प्रोफेसनल्स कार्यक्रम सोझै टेलिभिजनमा हेर्न पाइदैन, तर हजारौं नेपालीले उनी सहभागी कार्यक्रम यूट्यूब र सामाजिक संजालमा हेरीरहेका छन्।

सेफबाट उद्यमी बनेका लन्डनस्थित होलीकाउ समूहका अध्यक्ष कुल आचार्यले  सेफ सन्तोष शाहलाई बधाई दिंदै उनको खानाबाट  नेपाललाई युके र संसारभरि चिनाउनुका साथै  नेपालका विभिन्न क्षेत्र र समुदायको खाना प्रस्तुत गरेर राष्ट्रिय एकतालाई पनि बलियो बनाएको बताए । एक ट्वीट गर्दै आचार्यले सन्तोष शाहलाई ‘मानार्थ कलिनरी एम्ब्यासडर’ घोषणा गर्न नेपाल सरकार तथा नेपाल पर्यटन बोर्डलाई आग्रह पनि गरेका छन् ।