बेलायतमा भूपू गोर्खा सैनिकका लागि आरएफईएले दियो जागिरको यस्तो अवसर

शिब भण्डारी

लण्डन । बेलायतस्थित फोर्सेस इम्प्लोयमेन्ट च्यारीटि आरएफईए (Forces Employment Charity RFEA) सैनिक सेवा गरी निवृत भएका भूपू सैनिक हरुको मनमुटुमा बस्न सफल भएको छ । व्रिटिश आर्मीमा सेवा गरी निवृत भएका भुपू सैनिक हरुलाई रोजगारी पाउनको लागि सहयोग पुर्याउने लक्ष्य सहित सन् १८८५ मा स्थापित भएको (RFEA)च्यारीटि संस्थाप्रति गोर्खालीहरु गर्व गर्छन् ।

सस्थाले सम्पूर्ण भुपू सैनिकहरुलाई सेवानिवृत भएपछि रोजगारीको व्यवस्था गर्ने काम गरिरहेको छ । त्यतिमात्र नभएर आरएफईएले रोजगारीको निम्ती आवश्यक पर्ने व्यक्तिगत विवरण सहितको सिभि तयार गर्नेदेखि, अन्तर्वार्ता दिनेक्रममा आवश्यक पर्ने सीप तथा टेक्निक, नेटओर्किङ लगायतका विषयमा पनि तालिम दिदै आएकोे छ । संस्थामा हाल १३ जना क्षेत्रीय रोजगारी सल्लाहकारहरु आवद्ध छन्, उनीहरुले व्रिटिश भुपू सैनिक हरुलाई रोजगारी प्राप्त गर्नको निम्ती गर्नुपर्ने हरेक विषयमा सल्लाह तथा सुझाव दिने गर्दछन् ।

यस संस्थामा २०१२ सालदेखि गोर्खा इम्प्लोयमेन्ट एडभाइजरको रुपमा काम गर्दे आइरहेका नेपाली राम गलामीको मिहेनतको नेपाली भुपू गोर्खाहरुले सराहना गर्दछन् । “विगत ८ बर्षदेखि सैनिनिवृत भएकाहरुलाई उचित फिल्डमा रोजगारी दिने काममा मैले खटिदै आएको छु,” लण्डन नेपाल न्यूजसंग उनले भने, “कोही कसैले पनि रोजगारीको आसामा भौतारिनु परेको छ भने मलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ ।” उनले कामको खोजीमा रहेकाहरुलाई (सुरक्षाकर्मी) सेक्युरिटी लगायतका रोजगारीका अवसरहरु दिन सकिने जानकारी दिदै त्यसको साथै जागिर खान आवश्वक पर्ने अन्य सीप तथा जानकारीहरु पनि दिइने बताए । गलामीले गोर्खाहरु बसीरहेको ठाँउमा पुग्ने, विभिन्न शहरमा रहेका जब सेन्टर प्लसमा रहेका एडभाइजरहरु तथा गोर्खा वेलफेयर एडभाइस सेन्टर (CTP) सिटीपीसंग समन्वय गर्ने काम गरिरहेका छन् । उनले ज्येष्ठ भुपूसैनिकलाई पनि सहयोग गर्ने जिम्मेवारी निभाइरहेका छन् ।

यस संस्थाले तालिम गर्नको लागि चाहिने फण्डिङ्ग, हार्डशिप ग्यारेन्टी, फ्रि कोर्स तालिम सम्बन्धमा पनि योगदान दिदै आएको छ । गलामीले संस्था मार्फत हालसम्म ३ सय भन्दा धेरै नेपाली भूपू गोर्खाहरुले रोजगारी दिलाएको जानकारी दिए । यस संस्थाले कोरोनाभाइरस महामारीको समयमा पनि काम बन्द गरेन । घरबाटै सेवा सञ्चालन गरी धेरै व्यक्तिहरुलाई रोजगारी दिन सकेको गलामीले जानकारी दिए ।

नेपालको गुल्मी स्थायी घर भएका गलामी बरिस्ठ समाजसेबी एबम गुल्मी जिल्ला समाज युकेका पूर्व अध्यक्ष हुन्,गलामी  १९८५ मा बेलायती सेनामा भर्ती भई (1RGR) आरजिआरमा सेवा गरी २००२ अवकाश लिएका थिए । सेवानिवृत भएपछि हुने समस्यालाई मध्यनजर गर्दै भूपू गोर्खाहरुलाई सघाउने गरी यस संस्थामा आफु जोडिएको उनको भनाई छ । (RFEA)आरएफईएले १३५ बर्षदेखि भुपू सैनिकको कल्याण्मा काम गर्दै आइरहेको छ । (RFEA)आरएफईएले १९ हजार ७ सय बढीलाई रोजगारी दिलाउन सफल भएको छ भने कम्पनीमा १२६ जना कर्मचारीहरु कार्यरत छन् ।त्यसैगरी ९ हजार २ सय भन्दा बढी रोजगार दातासंग समन्वय गरिरहेको यस संस्थाले अझै ८४ हजार भन्दा बढी व्यक्तिलाई रोगजारी दिलाउन सक्ने क्षमता राख्दछ ।थप जानकारीको लागि WWW. RFEA.org.uk