तक्दीर अधिकारी
सिड्नी । कोभिड १९ महामारीको कारण आगामन बन्द गरेको अष्ट्रेलिया सरकारले विद्यार्थीहरु भित्राउने तयारी थालेको छ । कोरोनाभाइरस महामारीको अवस्था सुधार भएका देशहरुबाट विद्यार्थी अष्ट्रेलिया आउन शुरु भएका छन् । करिब ९ महिनापछि पहिलो पटक अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा ६३ जना अन्तर्राष्ट्रिय विद्यार्थीहरु यतिबेला डार्विनमा आएका छन् । चाल्र्स डार्विन युनिभर्सिटीमा भर्ना भएका ७० विद्यार्थीहरु मध्ये ६३ जना मात्रै यहाँ आएका छन् । यस पटक चीन, हङकङ, जापान, भियतनाम र ईन्डोनेसियाका विद्यार्थीहरु आएका हुन् ।अष्ट्रेलिया आउने खर्च विद्यार्थीहरुले आफै व्यहोरेका छन् भने क्वारेन्टीनको खर्च विश्वविद्यालयले व्यहोर्ने भएको छ । १४ दिनकोे क्वारेन्टीन बसाई सकिएपछि उनीहरुको कोरोना परिक्षण गरी कलेजमा अध्ययनको निम्ती पठाइने जनाइएको छ ।
नेपाली विद्यार्थीहरु कहिले आउन पाउँछन् ?
ओपल एजुकेशन कन्सलटेन्सी निर्देशक विवेक थापाले भने नेपाल भारत लगायतका देशहरुमा कोरोनाभाइरस महामारीको अवस्था अलिक जटिल भएकोे कारण अझै जुन महिनासम्म यहाँ आउने सम्भावना भने नरहेको उनले बताए ।आफ्नो आम्दानीको मुख्य श्रोत शिक्षा भएको कारण सरकारले कोरोना नियन्त्रित देशबाट विद्यार्थी ल्याउन थालेको हो । संघीय सरकारले विद्यार्थी ल्याउने नल्याउने जिम्मा प्रदेश सरकारहरुलाई दिएको छ । एमजि एसोसिएट्सका निर्देशक महेन्द्र घिमिरेले अष्ट्रेलिया आउन नपाएपनि घरबाटै अध्ययन गर्न भने मिल्ने बताए । “अध्ययन गर्नको निम्ती भिसा प्रक्रिया भने चलिरहेको छ,” उनले भने, “तर स्वदेशमै बसेर अनलाइनमै अध्ययन गर्न मात्र पाइन्छ, यही आएर अध्ययन गर्न अझै केही महिना कुर्नुपर्ने हुन्छ । “उनका अनुसार स्वदेशमै अध्ययन गरेपनि यही आएर अध्ययन गरेसरह मान्यता भने पाइने भएको छ । प्रीमो एजुकेशन कन्सल्टेन्सीका निर्देशक दिपक केसिले आफ्नो कन्सलटेन्सीले नेपाली विद्यार्थीहरुलाई हाललाई यहाँ आउन हतार नगर्न आग्रह गर्छन् । “अहिले यहाको सरकारले यात्रा अनुमती पनि दिएको छैन, त्यसैमाथी अहिले यहा आउदा विद्यार्थीलाई समस्या हुन सक्ने भएकोले नआउन आग्रह गरेका छौँ”, ।
नेपालमा सरकारले पनि कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको कारण पनि नेपाल बाट विद्यार्थीहरु यहाँ ल्याउन हाललाई सम्भव नभएको बताइएको छ । पढाईकै बीचमा आफ्नो घर गएका विद्यार्थीहरु यहाँ आउन नपाउँदा समस्यामा परेका छन् । नेपालमै बसेर अध्ययन गर्न पाइने भएपनि नेपालबाट डलरमा शुल्क बुझाउन प्राक्टिकल नहुने भएको कारण पनि केही समय पर्खन समेत यहाँ स्थित नेपाली अगुवाहरुले आग्रह गरेका छन् । आफ्ना नागरिक र पिआर होल्डरहरुलाई मात्र विभिन्न मापदण्ड अनिवार्य गरेर आवागमन खुलाएको सरकारले विद्यार्थी तथा पर्यटकको निम्ती अनुमति दिन कोरोनाभाइरस महामारीको स्थितीले निर्धारण गर्ने भएकोे छ । अष्ट्रेलिया सरकारले बर्षमा ४० अर्ब डलर राजस्व शिक्षाबाटै संकलन गर्ने गरेको छ।






