एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका लागि मंगलबार सकिएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । हालसम्म बाइडेनले २०५ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले १३२ इलेक्टोरल मत प्राप्त छन् । यहाँ निर्वाचित हुनको लागि २७० इलेक्टोरल मत प्राप्त गर्नुपर्ने हुन्छ ।
यस पटक अमेरिकामा १० करोड जनताले हुलाकमार्फत मतदान गरेका छन् । क्यालिफोर्निया, ओरेगन र वाशिङटनको नतिजा बाइडनको पक्षमा जाने प्रक्षेपण गरिएको छ।
अहिलेसम्मको प्रक्षेपित नतिजामा ट्रम्पले १७ र बाइडनले १४ राज्यमा विजय हात पार्ने देखिएको छ। सन् १९९२ देखि डेमोक्र्याट उम्मेदवारले जितेको क्यालिफोर्नियामा ५५ इलेक्टोरल मत छ। सन् १९८८ देखि डेमोक्र्याट उम्मेदवारको पक्षमा मतदान गरेको ओरेगन मा पनि बाइडनले जित्ने बताइएको छ। छ इलेक्टोरल मत रहेको क्यान्सस र १० इलेक्टोरल मत रहेको मिजुरीमा ट्रम्पले र १० इलेक्टोरल मत रहेको इलिनोईमा बाइडनले जित्ने प्रक्षेपण गरिएको छ।
अहिलेसम्म देखिएका नतिजाहरूमा सन् २०१६ को भन्दा उल्टो परिणाम आएको छैन। केही घण्टामै निर्वाचनकोे अन्तिम मतपरिणम आउने भएको छ ।






