लन्डन । वंशजका आधारमा नेपाली नागरिकता लिएको नेपाली वाध्यात्मक परिस्थितिमा विदेशीए पनि उसको नागरिकता निरन्तरता हुनुपर्नेमा तीव्र वहस भएको छ । आइतबार आयोजित एउटा भर्चुअल अन्तरक्रियामा नेपाल र बेलायतका जानकारहरुले प्रवासी नेपालीलाई नेपाल फर्कने वातावरण बनाउन सरकारलाई नागरिकता राख्न दिन दवाव दिए ।
कतिपय वक्ताहरुले नेपाल संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने ऐन पारित हुनेमा आशंका व्यक्त गरेका थिए । तर, केहीले गैरआवासीय नेपालीहरुले नेपाली नागरिक सरह आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने कुरा संविधानले नै सुनिस्चित गरेको अवस्थामा आशावादी हुन आग्रह गरे । कार्यक्रममा अधिवक्ता बालकृष्ण न्यौपानेले नेपाल सरकारले विदेशीलाई नागरिकताका लागि ढोका खोलिदिने तर नेपालीलाई ढोका थुनिदिने षडयन्त्र गरिरहेको आरोप लगाउंदै देश समाप्त पार्ने खेल भइरहेको दावी गरे । उनले संसारका धेरै देशले दोहोरो नागरिकता मानेको अवस्थामा नेपालले प्रवासका नेपालीलाई नेपाली नागरिकता दिंदा कुनै आर्थिक, सामाजिक नोक्सानी वा राष्ट्रियता समाप्त नहुने टिप्पणी गरे ।
पूर्व उप प्रधानमंत्री सिपी मैनालीले २०४६, ०६२ र ०६३ का आन्दोलन समाजमा सार्थक परिवर्तन ल्याउन भन्दा पनि नागरिकता नीति बदल्न ल्याइएका आन्दोलन जस्तो देखिएको टिप्पणी गरे । उनले आफुले माओवादी युद्धले भुटानीकरण र कालान्तरमा सिक्किमीकरण गर्ने धारणा राख्दै आएको र देश त्यही स्थितिमा गएको आरोप लगाए । नागरिकता दिने नीति कडा हुनुपर्ने नत्र देश फिजीकरणको स्थितिमा पुग्ने उनको धारणा थियो । विदेशीलाई नागरिकता दिने तर नेपालीलाई नेपालमा संरक्षण नदिने घातक काम भइरहेको पनि उनले बताए । मैनालीले यस विषयमा उच्चस्तरिय आयोग गठन गर्नु पर्ने बताए । अर्का वक्ता अर्जुन प्रसाईंले विदेशमा बस्ने नेपालीलाई आफूले भेट्दा उनीहरुमा मातृभूमि र माटोको माया नेपालमा बस्ने नेपालीको भन्दा सय गुणा बढी पाएको बताए ।
सत्ताधारीकै कारण वाध्यात्मक स्थितिवश नेपाली विदेशिएका उल्लेख गर्दै प्रसाईंले माओवादीको चरम द्वन्द्व मा देश आर्थिक रुपमा पनि ध्वस्त हुंदा विदेशका नेपालीले रेमिटेन्स पठाएर नेपाल असफल राष्ट्र हुनबाट जोगिएको बताए । विदेशमा पढे लेखेका र दुरदृष्टि भएका मान्छेहरु नेपालमा फर्किए आफूहरु छायांमा पर्ने डरले सरकारले फर्कने बाटो रोकेर केही दिन नचाहेको आरोप प्रसाईंले लगाए । समाजसेवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ) ले स्वेच्छाले त्यागेमा बाहेक कुनै पनि नेपालीले वंशजको नागरिकता त्याग्नु पर्ने स्थिति वान्छनीय नहुने भन्दै वंशजको नागरिकताबाट वञ्चित हुनु नपरोस् भन्ने विदेशका नेपालीको चाहना रहेको बताए ।
कार्यक्रम संयोजक खगेन्द्र पाठकले नेपाल सिक्किम र फिजीको डिजाइनमा गएको जिकिर गर्दै वंशजका आधारमा नेपाली नागरिकता पाएका व्यक्तिहरु संसारका जुनसुकै ठाउँमा बसोबास गरिरहेको भए पनि उनि हरुको नेपाली नागरिकता कायमै राखिनु पर्छ भन्दै आफूहरुले दवावमुलक अभियान जारी राखेको बताए । उनले आफ्नो नेपाली नागरिकता सुरक्षित हुन साथ् कैयौं नेपाली हरु स्वदेश फर्कने मनस्थितिमा रहेको पनि बताए। स्वभिमानी नेपालीले अब सुक्ष्म तरिकाले तथ्यांक अध्ययन गर्ने बेला आएको पाठकले बताए ।
सबैभन्दा पहिले वंशजका नेपालीको पहिचान गर्न जरुरी रहेको पनि उनले औंल्याए उनले अन्तिम निष्कर्षमा नपुगुन्जेल यो अभियान जारी रहने पनि बताए। । सो कार्यक्रममा अपराध अनुसन्धान विशेषज्ञ चन्द्र कार्की, महेश रेग्मी, रोशन कार्की, अरुण शाक्य, कृष्ण सुवेदी (जापान), राम विमली (अमेरिका) लगायतका वक्ताहरुले पनि आफ्नो धारणा राखेका थिए ।






